काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहालले लिएपनि आपत्ति नहुने जनाएका छन् । तर, सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने जनाए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख सचेतक लेखकले सरकारले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट कति जनधनको क्षति भएको हो भन्ने कुराको यकीन जानकारीका साथै उद्धार र राहतमा के काम भइरहेको छ भन्ने कुराको जानकारी गराउनुपर्ने माग गरे ।
‘सरकार विश्वासको मत लिने तयारी गरिराख्या छ । संविधानअनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठ्या छ, त्यसमा केही द्विधा छैन । सरकारले पूरै ३० दिन लेओस् । हिजो २८ गते त थोरै मात्र हुन्छ २१ दिन थप्न सकिन्छ पनि भन्नुभयो, त्यो पनि थप्दा हुन्छ । आपत्ति छैन,’ लेखकले भने, ‘सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुपर्यो । भनिदिनुपर्यो कति मानिसहरूको मृत्यु भएको हो ? कति घाइते भएका छन् ? कतिको उपचार भइरहेको छ ?’
सरकारले अहिले अविरल वर्षका कारणले बाढी, पहिरो, डुबानले ल्याएको समस्याका बारेमा सदनमा जानकारी गराउनुपर्ने लेखको भनाइ थियो । मुलुकमा प्राकृतिक प्रकोपको कारणले भएका क्षतिको जानकारी पत्रपत्रिकामा प्रकाशित तथ्यांक पढेर जानकारी पाउनुपर्ने बाध्यता रहेको लेखकको भनाइ थियो । सरकारको जिम्मेवारीमा रहेसम्म जनता र संसद्प्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
















