मिलेमतो प्रकरणमा सजाय पाइसकेका रेफ्रिकाे गलत निर्णयले हार्न बाध्य नेदरल्यान्ड्स

37

काठमाडौं । युरोकप फुटबलको बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई २–१ गोलले हरायो । त्यो खेलमा भएको एउटा पेनाल्टी गोल अहिले निकै चर्चाको विषय बनेको छ ।

नेदरल्यान्डका प्रशिक्षक रोनाल्ड कोएम्यानले पनि इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर दिने रेफ्रीको निर्णयको आलोचना गरेका छन् । खासमा खेल सुरु भएको सातौँ मिनेटमै नेदरल्यान्ड्सले अग्रता लिएको थियो । डच टोलीका लागि जाभी सिमोन्सले गोल गरेका थिए ।

त्यसपछि खेलको १८औँ मिनेटमा इङ्गल्यान्डका कप्तान ह्यारी केनले डच टोलीको पेनाल्टी बक्स भित्रबाट एउटा शक्तिशाली प्रहार गरेका थिए । त्यो प्रहार गोलमा परिणत हुन सकेन । तर, त्यसअघि नै नेदरल्यान्ड्सका रक्षापँक्तिका खेलाडी डेन्जल डमफ्रिजबाट ‘फल’ भएको भन्दै इङ्गल्यान्डका खेलाडीले पेनाल्टी प्रहारको अवसर मागेका थिए ।

मैदानमा रहेका रेफ्री फेलिक्स जवायरले इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर दिएनन् । त्यसपछि भिडियो असिष्टेन्ट रेफ्री (भीएआर) ले भने इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर प्रदान गर्यो । त्यही अवसरलाई सदुपयोग गर्दै इङ्गल्यान्डले पेनाल्टी प्रहारबाट जवाफी गोल ग¥यो ।

त्यसपछि खेलको अन्तिम समयमा ओली वाट्किन्सले अर्को गोल थप्दै इङ्गल्यान्डलाई फाइनलमा पु¥याएका थिए । इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर दिने सोही निर्णयलाई लिएर डच टोलीका प्रशिक्षक कोएम्यानले रेफ्रीको आलोचना गरेका हुन् ।

Harry Kane

‘मैले पनि खेल नजिकबाट नियालेको थिएँ । मेरो विचारमा त्यो कुनै पनि हालतमा पेनाल्टी थिएन । केनले बल प्रहार गरिसकेपछि मात्र बुटले खुट्टामा छोएको देखिन्छ । अन्ततः त्यही अप्रिय निर्णय नै हाम्रो हारको कारण बन्न पुग्यो,’ प्रशिक्षक कोएम्यानले भनेका छन्, ‘अवस्था यस्तै निराशाजनक रहने हो भने हामीले फुटबलको रमाइलो पक्ष गुमाउने छौँ ।’

इङ्गल्यान्डका पूर्वडिफेन्डर तथा फुटबल विश्लेषक ग्यारी नेभिलले पनि नेदरल्यान्ड्सका लागि त्यो दुःखद निर्णय भएको प्रतिक्रिया दिएका छन् । ‘एउटा डिफेन्डरको रुपमा मैलै भन्नै पर्छ, त्यो अत्यन्तै खराब निर्णय थियो । डिफेन्डर डेन्जलले स्वाभाविक तरिकाले विपक्षीलाई रोक्ने प्रयास गरेका थिए । त्यहाँ पेनाल्टी दिनु पर्ने आवश्यकता थिएन ।’

इङ्गल्यान्डकै पूर्वस्ट्राइकर एलर सियररले पनि डिफेन्डर डेन्जलले स्वाभाविक रुपमा विपक्षीलाई बल प्रहार गर्नबाट रोक्ने प्रयास गरेको बताए । तर, उनले डेन्जलको बुटले विपक्षी खेलाडीको खुट्टामा चोट पुर्याएको स्पष्टै देखिएको प्रतिक्रिया पनि दिएका छन् ।

नेदरल्यान्ड्सका कप्तान भर्जिल भान जिकले पनि सोही पेनाल्टीका कारण खेलले अर्को मोड लिएको प्रतिक्रिया दिएका छन् । उनी इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक पनि हुन् । ‘हामीले पहिलो गोल गरेपछि इङ्ल्यान्ड दबाबमा परेको थियो । तर, त्यही पेनाल्टी गोलले उनीहरूको आत्मविश्वास फर्कायो । कतिपय निर्णय दुःखदायी हुन्छ । तर, म रेफ्रीको निर्णयको विषयमा कुनै प्रतिक्रिया जनाउन चाहँदिन,’ उनले भनेका छन् ।

यसका अतिरिक्त नेदरल्यान्ड्स र इङ्गल्यान्डबिचको खेलमा रेफ्रीको भूमिका निर्वाह गर्ने फेलिक्स यसअघि खेल मिलेमतो प्रकरणमा सजाय पाइसकेका व्यक्ति हुन् । उनले सन् २००५ मा सहायक रेफ्री हुँदा खेल मिलेमतो गरेको आरोप पुष्टि भएको थियो । त्यसपछि उनी ६ महिनाको प्रतिबन्धमा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here