ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा

32

काठमाडौं । ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शुक्रबार राति भएका क्वाटरफाइनलका खेलहरूबाट अन्तिम ४ टिमको तय भएको हो।

सेमीफाइनल पुग्ने चार टोलीमा मोरक्को, स्पेन फ्रान्स र इजिप्ट रहेका छन्। शुक्रबार भएको खेलमा मोरक्कोले अमेरिकालाई ४-० ले हराएको थियो भने जापानलाई स्पेनले ३-० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो।

त्यस्तै, क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा धकेलिएको इजिप्ट र पाराग्वेबीचको खेलमा इजिप्ट सेमिफाइनल प्रवेश गर्‍याे। उसले पाराग्वेलाई ५-४ ले पराजित गरेकाे हाे। ७१ औं मिनेटमा अग्रता लिएको पाराग्वेले ८८ औं मिनेटमा इब्राहिम अदिलको गोलमा अग्रता गुमाउन पुग्यो। त्यसपछि अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा इजिप्टका सबै पाँच खेलाडीले गोल गर्दा पाराग्वेका एक खेलाडीको प्रहार गोलरक्षकले बचाएका थिए।

त्यस्तै शुक्रबार भएको दिनको अन्तिम खेलमा घरेलु टोली फ्रान्सले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। खेल सकिएपछि विवाद भएको खेलमा फ्रान्सले पाँचौं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

अधिकांश समय अर्जेन्टिनाले खेल नियन्त्रणमा राखेको भएपनि गोलका अवसर चुकाउँदा क्वाटरफाइनलबाट बाहिरिन अर्जेन्टिना बाध्य भयो। खेलको अन्तिम समयमा फ्रान्सले अग्रता दोब्बर बनाएपनि भिएआरले उक्त गोललाई मान्यता दिएन।

अब फाइनल प्रवेशका लागि फ्रान्सले इजिप्टको सामना गर्ने छ भने स्पेन र मोरक्को भिड्ने छन्। सेमिफाइनल खेल सोमबार राति हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here