काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटमा नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै भुटानी लिग च्याम्पियन पारो एफसी समूह चरणमा प्रवेश गरेको छ। पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा अर्को एक गोल थप्दै पारोले समूह चरणको यात्रा पक्का गर्यो। हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरियो।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा पहिलो हाफमै वर्षाले भिजेको मैदान खेलाडीहरुको प्रदर्शनसँगै हिलाम्मे मैदानमा दुवै टोलीले अन्तिमसम्म बलका लागि संघर्ष गरेका थिए। अब पारोले समूह चरणमा थप खेलका अवसरहरु प्राप्त गर्नेछ।
मैदानको खराब अवस्थाबीच पहिलो हाफमा चर्च ब्वाइजले खेलमा अग्रता लिएको थियो। तर उसको अग्रतालाई लामो समय टिक्न पारो एफसीले दिएन। ३८ औँ मिनेटमा मोसेस टउमको हेडलाई लकेन लिम्बुले सिक्स यार्ड बक्सबाट आकर्षक फिनिस गर्दै चर्चा ब्वाइजलाई अग्रता दिलाए।
तर एक मिनेट पनि नबित्दै किंगा वांङचुकले बराबरी गोल फर्काए। लामो प्रहारमा आएको बल गोलरक्षकले जज गर्न नसक्दा पाएको बललाई सहज रुपमा किंगाले गोलमा परिणत गर्दा खल १–१ को बराबरी भएको थियो।
तर दोस्रो हाफमा पारोले खेलमा अग्रता लियो। उसका लागि दोस्रो हाफमा ६४ औँ मिनेटमा विलियम ओपोकुले गरेको गोल निर्णायक बन्यो। अग्रतापछि चर्च ब्वाइजले खेलमा फर्कन प्रयास गरे पनि सफल भएन।


















