चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्गको अवरोध खुलाउन ढिलाइ हुँदा एम्बुलेन्सका बिरामी र एसईई पूरक परीक्षाका परीक्षार्थी बढी मर्कामा परेका छन् ।
बिहानैदेखि लामो समयसम्म जाममा परेका सवारी साधन र तिनमा सवार यात्रुहरु पनि बीचबाटोमै अलपत्र छन् । नाग्दी खोलामा आज बिहान करिब सात बजेतिर ठूला ढुंगासहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको छ । सडक बन्द हुँदा बिरामीको बोकेका एम्बुलेन्सहरु र एसईई परीक्षार्थीहरुसमेत बीचमै अलपत्र परेका थिए ।
विद्यार्थीहरुलाई पैदल पहिरो पार गराएर परीक्षा केन्द्रतिर पठाइए पनि बिरामी बोकेका एम्बुलेन्स भने पहिरो गएको स्थानबाट पार हुन सकेका छैनन् ।
आज बिहान करिब सात बजेतिर ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । तर मेसिन आउन ढिला गर्दा करिब ८ बजेदेखि मात्रै पहिरो पन्छाउन सुरु गरिएको थियो ।
पहिरो पन्छाउन चारवटा लोडर र एक्सकाभेटर प्रयोग गरिएको थियो । तर सगुन कन्स्ट्रक्सनको एउटा लोडरमा माथिबाट पहिरो झरेर लागेपछि त्यसले काम बन्द गरेको थियो । पहिरो झर्दा गल्छी गाउँपालिका ६ का लोडर अपरेटर लिलाधर अधिकारीको वायाँ हातमा चोट लागेको छ । मेसिनमा पनि क्षति पुगेको उनले जनाएका छन् । त्यसैले पहिरो पन्छाउन पनि समय लागेको प्रहरीले जनाएको छ ।