उपबिजेता नेपाली टिमलाई नगद १ लाख रुपैयाँसहित सम्मान

28

काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जना खेलाडी छन् । त्यस्तै प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । खेल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा गएर हेरेका थिए । बिहीबार आयोजित सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले खेल क्षेत्रको विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा बदल्न सरकारी निकायले काम गर्नुपर्ने जनाए।

‘काभाले सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । छुटेको काम गर्न सम्झाएको छ’, सम्मान कार्यक्रममा उनले भने । फाइनल खेलमा नेपाली महिला टिमको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित गरेको भन्दै शाहले यो खेलले सबै नेपालीलाई एक भावनामा उभ्याएको जनाए ।

उपप्रमुख सुनिता डंगोलले खेलमा हार जित स्वभाविक हो भन्दै खेलाडीहरुमा ऊर्जा देखिनु महत्वपूर्ण भएको जनाइन् । ‘खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको ऊर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो ऊर्जा पायौं’, उनले भनिन् ।

मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here