एजेन्सी / सिरियाको उत्तरपश्चिम क्षेत्रमा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन् । सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ ।
शुक्रबार राती अबेर इद्लिब प्रान्तको महम्बेल गाउँमा युद्धक विमान र हेलिकोप्टरबाट गरेको हवाई आक्रमणमा परी सात बालबालिकासहित १३ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । इद्लिब प्रान्तको दक्षिण भागमा रहेको खान सैखुन शहरको बाहिरी इलाकामा सरकार पक्षबाट भएको रकेट आक्रमणमा शनिबार बिहान एक महिलाको मृत्यु भएको बेलायलआवद्ध मानव अधिकार समूहले जानकारी दिएको छ ।
सिरियाली विद्रोही समूहको बलियो पकड रहेको इद्लिब प्रान्तमा ३० लाख व्यक्तिको बसोबास रहेको र यस शहरलाई सरकारी पक्षले पुनः कब्जामा लिएको थियो । रुसको समर्थन रहेको सिरियाली सरकार र विद्रोही समूहबीच गत आठवर्ष यता गृहयुद्ध जारी रहेको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्ध अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूहहरु पनि हाबी हुदै गयो ।


















