शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार भन्दै युद्ध विरोधी प्रदर्शन

39

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै  २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको  हो । पछिल्लो चरणमा संभावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जस्का कारण कतिपय राष्ट्रले लेवनान छोड्न आफ्ना नागरिकलाई आह्वान गरेका छन्  ।

यसैगरी इरान र इजरायलबिच जुनसुकै बेला भिषण युद्ध हुने त्रास बढेको छ । प्रदर्शनमा सहभागिहरुले शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार?, २९ महिनादेखि जारी रुस–युक्रेन युद्ध, राष्ट्रसंघ कहाँ छ?, १० महिनादेखि जारी इजरायल–हमास युद्ध, राष्ट्रसंघ कहाँ छ?, युद्ध विस्तार हुदँैछ मानवता पराजित हुदैँछ, मध्यपूर्वमा शान्ति कायम गर, पश्चिम एशियामा शान्ति कायम गर, रुस–युक्रेन युद्ध तत्काल अन्त्य गर, इजरायल–हमास युद्ध तत्काल अन्त्य गर, रुस युक्रेन युद्ध अन्त्य गर्न राष्ट्रसंघ किन असफल? मध्यपूर्वमा युद्ध रोक्न राष्ट्रसंघ किन असफल?, युद्धको विस्तारः मानव सभ्यतामाथि ठूलो खतरा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

पत्रमा एकातिर रुस–युक्रेन युद्ध अर्कोतिर इजरायल–हमास युद्ध लम्बिदै जानु समग्र विश्व सभ्यताकै लागि खतरा भएको धारणासहित मानवता र सभ्यताको रक्षाका खातिर युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले विशेष पहलसहित आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिद्वय होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, पूर्व सचिव बलबहादुर गाहा,  काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, काठमाण्डौ शाखा उपसभापति विकास थापा, अधिकारकर्मीहरु उमा गौतम, रेजिना राई, रोज विष्टसहित तीन दर्जन बढी शान्तिवादीहरुको सहभागिता थियो ।

शान्ति समाजको अर्को प्रदर्शन २०८१ साउन २८ गते सोमबार दिउँसो १ बजे काठमाण्डौ चक्रपथ बसुन्धारास्थित बंगलादेशी दुतावास अगाडि हुदैँछ । बंगलादेशको वर्तमान स्थिति विशेषतः सद्भाव शान्ति लोकतन्त्र र मानव अधिकारका विषयमा केन्द्रीत रहि प्रदर्शन गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here