काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
साे आदेश विरुद्ध यशोदा फुड्स वाईवाईको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।
४ दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्क्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको दाबी सीजी फुड्सको छ ।
यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो । यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिएमा अदालतको मानहानि गरेको मानिने छ ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखिको पहिलो रोजाइमा रहँदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाइको लोकप्रियताको दुरुपयोग गर्ने नियतका साथ करेन्टले वाइवाइको ट्रेडमार्क नक्कल गरेको कम्पनीले जनाएको छ । अदालतको यस्ताे आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ ।


















