प्रहरी कर्मचारीहरूको बैंक खाता चेक गरिने

32

काठमाडौं ।  नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूको बैंक खाता चेक गरिने बताएका छन्।

बुधबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी कर्मचारी, परिवार र साथीहरू समेतको बैंक खाता जाँच गरिने जनाएका हुन्।

‘हामीले डिआइजीसाबसम्म पनि करप्सनमा कारबाही गर्दछौं, तपाईं सबैले बुझ्नुपर्छ। म-म नभन्नुस्,’ उनले भने, ‘तपाईंको परिवारको खाता चेक गर्दै छौं हामी। तपाईंहरूको खाता चेक गर्दैछौं हामी। तपाईंहरूको साथी संगतीको खाता चेक गर्दैछौं।’ यसैबीच एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) फस्न लागेको पनि उनले बताए। उनले ती डिआइजीको नाम भने उल्लेख गरेनन्।

‘अहिले एक जना डिआइजीसाब फस्दै हुनुहुन्छ। त्यसैले यी कुराहरू बुझ्नुस्। निर्मम हुनुपर्ने अवस्‍था छ,’ उनले भने, ‘धेरै ठाउँमा हामीले एसपी तानेका छौं, कारण करप्सनको कारण।’

नेपाल प्रहरीमा रहेका धेरैजसो प्रहरी निरीक्षकहरू ट्राफिक बन्न चाहेको र अधिकांश मधेशमा जान रूचाउने पनि उनले जनाए ।  ‘ट्राफिक-ट्राफिक-ट्राफिक, किन ट्राफिक? अहिले मसँग ११ सय इन्सपेक्टरहरू छन्। त्यसमध्ये सबै इन्स्पेक्टरहरू तराईको इन्स्पेक्टर जान खोज्छन्। किन? प्रत्येक जवान तराईको अझ लुम्बिनी र मधेसको सीमा चौकी जान खोज्छ किन? काम एउटै होइन? त्यसकारण यी कुरा बुझ्नुस्। यो कुरामा म फेरि पनि सचेत गराउन चाहन्छु,’ उनले भने।

उनले नेपाल प्रहरीका कर्मचारीहरूलाई व्यावसायिक, इमान्दार हुन पनि निर्देशन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here