बागमती प्रदेशकाे राज्यश्व संकलनमा कमी

39

बागमती । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेसन (मालपोत)र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।

घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी गराए ।

उनका अनुसार सो आवमा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१.३२ प्रतिशत अर्थात् पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत आव २०८०/८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । उक्त शीर्षकमा ७ अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा ६ अर्ब ११ करोड ५७ लाख ३८ हजार राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले जनाए ।

यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ७ अर्ब ७९ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकामा ६ अर्ब ७५ करोड ३७ लाख सङ्कलन भएको छभने अन्तःशुल्क करबापत ३ अर्ब ३४ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएकामा २ अर्ब ३२ लाख १२ हजारमात्र प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ८ अर्ब एक करोड ३५ लाख प्राप्त हुने अनुमान गरिएकामा ५ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ मात्र प्राप्त भएको प्रमुख उपाध्यायले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here