-बाबुकाजी सुवाल ‘विकेश निराशी’
ल्यापटपको किबोर्डमा मेरा औंलाहरू रफ्तार गतिमा दौडिरहेका थिए । एउटा राष्ट्रव्यापी कथा प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने उत्कट अभिलाषाले आफ्नो कथालाई सकेसम्म परिष्कृत बनाउने धुनमा म एकदमै तल्लीन् भएर गहिरो सोचमा मग्न थिएँ ।
म पनि राष्ट्रिय स्तरको साहित्यकार कहलिन सक्छु भन्ने आत्मविश्वास मनमा उठिरहेको थियो । “टिङटिङ ! टिङटिङ !! ……… ……” मोबाइलमा आएको नोटिफिकेशनले मेरो ध्यान भङ्ग भयो । मैले मोबाइल लिएर हेरेँ । फ्रेण्ड रिक्वेस्ट आएको रहेछ – ऐश्वर्या रानी भन्ने प्रोफाइलबाट । आहा ! कस्तो सुन्दर नाम ! नाम त यति राम्रो छ, मान्छे कति सुकोमल होला । मैले मनमनै एउटी सुकोमल, मुलायम, सुन्दर मुहारको परिकल्पना गरेँ ।
कथा लेख्ने काम थाती राखेर प्रोफाइल चेक गर्नतिर लागेँ । प्रोफाइल लक गरिएको रहेछ । लक गरिएको प्रोफाइलको रिक्वेस्ट स्वीकार गर्ने गरेको थिइनँ । त्यसकारण म फेरि कथा लेख्नतिर लागेँ । तर त्यो सुन्दर युवतीको काल्पनिक तस्बीरले कथा लेखनमा मेरो कार्यलाई बिथोलिरह्यो । मेरो ध्यान आफ्नो काममा केन्द्रित हुनै सकेन । फेसबुक ह्याकिङ्ग, ठगी, ब्लाय्कमेलिङ्ग जस्ता प्रकरणहरू बढिरहेकाले जोकोहीलाई झट्ट विश्वास गरिहाल्ने अवस्था पनि थिएन । त्यसैले म दोधारमा परिरहेको थिएँ । तर एउटा असल मित्र पाइयो भने सुखदुःखका कुरा साटासाट गरेर जीवन आनन्दित बनाउन पनि त सकिन्छ भन्ने लालचले मलाई गाँज्न थाल्यो ।
कुनै लिंक क्लिक नगरेसम्म अपरिचित भएमा मेसेजमा कुरा गर्दैमा ह्याकिङ्ग हुँदैन भन्ने सुनेको थिएँ । “हेलो, तपाईँ ?” फ्रेण्ड रिक्वेस्टलाई बेवास्ता गरेर छोड्न मेरो मनले मान्दै नमानेपछि मैले मेसेजमा छोटो संवाद लेखेर छोडेँ । “हजु !” एकैछिनमा मेरो सन्देशको छोटो जवाफ आयो । आहा ! छोटो तर कस्तो मीठो जवाफ ! उनको सरल तथा सुशील तस्बीर मेरो आँखामा यसरी नाच्न थाल्यो कि म मन्त्रमुग्ध भएँ । “प्रोफाइल लक छ नि त ! नाम भन्नुस् त ।” मैले सोधेँ । “हजु” फेरि छोटै जवाफ आयो । “वास्तविक नाम भन्नुस् न !” मैले फेरि सोधेँ । “ऐश्वर्या” उताबाट अझै छोटो जवाफ आयो । “हजुर कहाँबाट ? मलाई चिन्नुहुन्छ ?” मैले सोधेँ । “नाइँ ।”
उताबाट क्रमशः जवाफ आयो, “म उदयपुरबाट । अनि हजुर कहाँबाट ?” उनले साँचो भनिन् कि झूठो मलाई थाहा भएन । तर मैले भने आफ्नो वास्तविक ठेगाना बताएँ । उनले बताए अनुसार उनी भर्खरै विज्ञान लिएर ३.५ जिपिएसहित १२ कक्षा उत्तीर्ण गरेकी उन्नाइस वर्षकी केटी रहिछिन् । उनलाई काठमाडौं आएर एम.बि.बि.एस. अथवा ईन्जिनियरिङ पढ्ने रहर रहेछ । तर आर्थिक अवस्था राम्रो नभएकाले धेरै ठूलो विषय पढ्न नसके पनि शिक्षा विषय पढेर शिक्षक बन्ने इच्छा रहेछ । घरमा बुबा, आमा र एउटी बहिनी मात्रै रहेछन् ।
बाबुआमा किसानी गर्दा रहेछन् । “म तिमी भनूँ कि तपाईँ ?” मैले प्रश्न गरेँ । “जे भन्दा नि हुन्छ ।” उनले भनिन् । आफूभन्दा सानी भएकीले मैले तिमी नै भन्न थालेँ । उनीसँग जतिजति कुराकानी हुँदै गयो, उतिउति अपनत्व बढ्दै गएको अनुभव गरेँ । मैले आफ्नो कथा लेख्ने काम नै भुलेर उनीसँग बात मारिरहेँ । “एकछिनपछि बोल्छु ल ?” उनले भनिन् । त्यसपछि उनी अफलाइन भइन् । उनीसँग कुरा गर्दागर्दै मेरो कथा लेख्ने काम त्यतिकै बिथोलियो । म उठेर घरायसी कामधन्धातिर लागेँ । काम गर्दै गर्दा पनि मलाई उनको याद भने आइरह्यो । “फुर्सद भयो ?” सुत्नुअघि अफलाइन भए पनि उनलाई मेसेज गरेँ । तर त्यसको कुनै जवाफ आएन ।
भोलिपल्ट बिहान चारैबजे म नउठेकै बेला मोबाइलमा मेसेज टोन बज्यो । “अब अगाडिको पढाइका लागि काठमाडौं आउने कि ?” मैले प्रश्न गरेँ । “आउन त मन थियो नि । पैसा छैन ।” उनले गुनासो पोखिन् । काठमाडौं त्यताको कोही आफन्त छैन ?” मैले फेरि सोधेँ । “दिदी पर्ने छ ।” उनले भनिन् । “कहाँ बस्नुहुन्छ ?” मैले सोधेँ । “त्यो त सोध्नुपर्छ ।” उनले भनिन् । “काम गर्दै पढ्ने नि ।” मैले सल्लाह दिएँ । “कसले खोजिदिन्छ र मलाई काम ? काठमाडौं आउने गाडीभाडा त छैन ।” उनले आफ्नो दुखेसो पोखिन् । “म बाहिर जान लागेको पछि कुरा गर्छु ल ?” मलाई घरायसी कामधन्धामा लाग्नुपर्ने भएकाले उनीसँग छुटिन खोजेँ । “हस् हजुर ।” उनले भन्दै गइन्, “कि आउनलाई हजुरले सहयोग गर्नुहुन्छ कि ?” उनले भनिन् । “म कोसिस गर्छु ल ?” मैले भनेँ । “हस् । कहाँ जान लाग्नुभएको ?” उनको यो जवाफ नकुरिकन म आफ्नो निस्किएँ । उनलाई कोशिस गर्छु भनेर त भनेँ । कसरी सहयोग गर्ने भन्ने उपाय भने सुझ्दै सुझेन दिमागमा । कामधन्धा गर्दागर्दै पनि तिनको समस्या कसरी समाधान गर्ने भन्ने कुरामा घोत्लिइरहेँ । सक्षम मानिसहरूले अवसर नपाउने अनि धनको आडमा असक्षम मानिसहरू जिम्मेवार ओहदामा पुग्नाले उत्पन्न समस्याहरू सम्झेर मलाई एकछिन उदेक लाग्यो । सही मान्छेले मञ्च नपाएर कुण्ठित भएर ओझेलमै बाँच्नुपर्ने अनि पहुँवालहरूको मनोमानीले गर्दाले नै आज अधिकांश युवाहरूले विदेशिनु परिरहेको छ । सन्तानलाई आफूबाट टाढा पठाउनुपर्दा आमाबुबाले भोग्नुपर्ने पींडा सम्झेर मुटु चसक्क बिझ्यो । अलिअलि धन हुनेहरू त परदेश गएर भए पनि दुःखसुख गरेर सकेको कमाउँछन् ।
गरिबहरू त योग्यता भएर पनि बेरोजगार बस्नुपर्ने अथवा आफ्नो क्षमताभन्दा पनि तल्लोस्तरको काम गरेर जिविकोपार्जन गर्नुपर्ने बाध्यताबाट हामीलाई कहिले मुक्ति मिल्ने होला भन्ने चिन्ता म ग्रसित भएँ । सोच्दासोच्दै मैले आफ्ना घनिष्ठ साथीहरूलाई सम्झिएँ । एकजना साथी शिक्षा क्याम्पसमा क्याम्पस प्रमुख थिए, अनि अर्को एकजना साथीको प्राइभेट स्कुल थियो । उनै साथीहरूलाई गुहारेर छात्रवृत्ति र काम मिलाइदिन पाए उनको उद्धार हुने निष्कर्ष निकालेँ । म कामधन्धा सकेर फर्किँदा उनलाई अनलाइनै देखेँ । उनले अघि सोधेको अन्तिम प्रश्नको छोटो जवाफ लेखेँ, “गोठमा ।” फेरि प्रश्न गरेँ, “चिया खायौ ?” “छैन ।” जवाफ आयो । “के गर्दै ?” मैले सोधेँ । अघि उनले काठमाडौं आउनलाई मैले सहयोग गर्न सकिन्छ कि भनेर सोधेको प्रश्नको जवाफ स्वरुप सोधेँ, “मैले के के सहयोग गर्नुपर्छ भन त ।” के गर्दै भन्ने प्रश्नको जवाफमा उनले भनिन्, “बसिरा’को, अनि हजु ?” अनि के सहयोग चाहिन्छ भन्ने प्रशनको जवाफमा भनिन्, “भयो छोड्दिनुस् ।” के गरिरहेको भन्ने प्रश्नको जवाफमा मैले भनेँ, “खाना बनाउँदैछु ।” “ए । म भोलि काठमाडौं आउने भनेको तर पैसा नै भएन ।” उताबाट अनपेक्षित सन्देश आयो । “भोलि नै ? कति लाग्छ र ? यसो सरसापट गर्नू न ।” मैले अलिकति आश्चर्य मान्दै अनि उनको नियतमाथि अति नै सशंकित हुँदै सल्लाह दिएँ । “उम्, काठमाडौं घुम्न र काम खोजेर गर्नुछ के” थप भन्दै गइन्, “पाँच हजार जति चाहिया छ, कहाँ माग्नु ? को छ र मलाई सहयोग गर्ने ?” भन्दै रोएको इमोजि पठाइन् । “आफन्तहरू कोही छैनन् र ?” मैले सोधेँ । “नाइँ” छोटो जवाफ आयो । “सुन्नुस् न ।” फेरि मेसेज आयो यताबाट ।
“भन्नू न ।” मैले भनेँ । मैले गरेको अनुमान क्रमशः सही हुँदैथियो । “एउटा कुरा भन्नुथियो ।” उनलाई दोमन गर्दै भनिन्, “ल ल भैहाल्यो, हजुर व्यस्त हुनुहुँदोरहेछ ।” “के कुरा ? म काम गर्दै कुरा गर्छु नि ।” उनले के भन्न लागिन् भन्ने मलाई स्पष्ट थाहा भइसकेको थियो । तैपनि मैले उनीबाट नै सुन्ने बिचारले भनेँ । “ल ल, मलाई सापटी दिन सक्नुहुन्छ ? कसम भेटेर तिर्छु ।” उनले ठ्याक्कै मैले सोचे जस्तै भनिन् । “टाढा छौँ, कसरी ?” मैले आश्चर्य ब्यक्त गरेँ । “दिनुहुन्छ कि नाइँ ? कसम म भोलि आउँछु ।” उनले कसम खाएर मलाई झनै सशंकित बनाइन् । “कसरी दिने ? तिमी काठमाडौंमा हो र ?” मैले फेरि सोधेँ । “ईसेवामा हाल्दिनू न । म भोलि आएर तिर्छु ।” उनले उपाय बताइन् । “मसँग ईसेवा छैन ।” मैले पन्छिन खोज्दै भनेँ ।
“पसलमा गएर हाल्दिनुस् न । सापटी हो के ! दिने कि नाइँ ?” उनले हठै गर्न थालिन् । उनको हठले मलाई झनक्क रिस उठ्यो । माग्ने बित्तिकै दिनलाई उनले राख्न दिएकी छिन् र ? हुन त यसो भन्न मन लागेको थियो । तर उनको चित्त दुखाउन मन लागेन । “नाइँ ।” मैले छोटो जवाफ लेखेँ । उनीसँग कुरा गर्दै गर्दा म अतीतको एउटा अविस्मरणीय घटनाभित्रकी प्रकृतिलाई सम्झेर झस्किन पुगेँ । त्यसपछि ऐश्वर्यालाई मेरो अतीतको त्यो अवस्मरणिय घटना सुनाउन थालेँ । “वाह ! हजुरको रचना ! मेरो त मनमै चसक्क भयो । आँसु नै थाम्न सकिनँ मैले त हजुरको रचना पढेर । यसरी साँच्चिकै वास्तविक जस्तै लाग्ने गरेर कसरी रचना गर्नुहुन्छ तपाईँले ?” फेसबुकमा राखेको एउटा रचनामा प्रकृति भन्ने एउटी पाठकको कमेन्ट पढेँ । मसेञ्जरमा मेसेजको साथै फ्रेन्ड रिक्वेस्ट पनि आएको रहेछ । “मेरो कथा पनि यस्तै मन छुने गरेर लेखिदिनुस् न हजुर । हजुरको लेखनशैलीको त म पारखी नै भैसकेकी छु । कसरी सिर्जना गर्नुहुन्छ यस्ता सुन्दर रचना ?” मेसेजमा यस्तो भनेकी रहिछिन् । मैले उनको प्रोफाइल चेक गरेँ । कहीँ कुनै खोट भेटिनँ । कुनै तडकभडक नभएकी शालीन् र सुशील देखिने अनुहार, गुलावी ओठ अनि स्याउका दाना जस्ता गाला, सर्लक्क मिलेको जीउडाल साँच्चिकै प्रकृतिकै अपार देन जस्तै रहिछिन् । “अवश्य ! तपाईँको कथालाई रोचक बनाउन भरमग्दूर प्रयत्न गर्नेछु ।” नयाँ कथा लेख्न पाउने भएर मैले सहर्ष जवाफ दिएँ । “हजुरलाई कल गर्नसक्छु ?” तुरन्तै उताबाट जवाफ आयो । यस्तो आग्रह देखेपछि मैले पनि तत्कालै भिडियो कल गरेँ । फोन उठाइन् । उनी मैले फोटोमा देखेर कल्पना गरेको भन्दा पनि सुन्दर र सुशील रहिछिन् । एकछिन हामीले विस्तृत रुपमा एक अर्काको परिचय आदानप्रदान गर्यौँ । अनि नाम र परिचय लुकाउने सर्तमा आफ्नो कथा सुनाउन सहमति जनाइन् । बेलुकाको खाना खाइसकेपछि विस्तारपूर्वक घटनाहरू सुनाउनलाई समय मागिन् । मैले सहमति जनाएँ । आहा ! कति सुन्दर रुप ! उनको रुपको वर्णन गर्न मसँग शब्दहरू नै छैनन् । स्वर्गबाट झरेकी अप्सरा जस्ती ! उनलाई बनाउन ईश्वरलाई पनि कम मिहिनेत लागेन होला । स्वर पनि बिछट्ट मीठो, बोलीबचन र शिष्टता पनि बेजोड ! मलाई लाग्यो भगवान्ले मेरै निम्ति सिर्जना गरेकी त होइन ? उनको रुप र यौवन अनि बोलीचाली र आँखामा देखेको मादकताले मलाई अत्यन्त मोहित बनाइसकेको थियो । आँखा बन्द गरे पनि खोले पनि उनको मुहार झलझली याद आएर म कहिले बेलुका होला भनेर व्यग्र प्रतिक्षा गर्न थालेँ । खाना खाइसकेर कापी कलम नजिकै राखेर म ओछ्यानमा पल्टिएँ । मेसेञ्जर खोलेँ । उनी अनलाइनै रहेछ । “खाना खानुभयो ?” मैले मेसेज गरेँ । “खाइसकेँ ।” यति भन्दै उनले भिडियो कल गरिन् । तर मैले उठाउने बित्तिकै कल काटियो । मैले धेरैपल्ट कल गरेँ । मलाई खानलाई हातमा लिएको गाँस खोसिए जस्तै भयो । कति धेरै व्यग्रताका साथ कुरेर जुरेको पल पनि चुट्कीमै समाप्त भयो । मन अति नै अमिलो भयो । उनी अनलाइनमा आउँदै आइनन् । राति अबेरसम्म उनको कल आउने प्रतिक्षामा बसिरहेँ । सुत्ने अनेकौँ प्रयत्न गर्दा पनि उनको सम्झनाले निदाउनै सकिनँ । उनको कल आइहाल्छ कि भन्ने आशाको त्यान्द्रोमा झुण्डिँदै कुनबेला निदाएछु पत्तै भएन । “म हजुरविना एकपल पनि बाँच्न सक्दिनँ । हजुरले मैले कहिल्यै धोखा नदिनुस् ल ?” मलाई आफ्नो अँगालोमा बलियोसँग कसेर मेरो अधर चुम्दै भनिन् । “म पनि त तिमीविना कहाँ बाँच्न सक्छु र लाटी ! तिमी यति सुन्दर छ्यौ, तिमीलाई त जसले पनि मन पराइहाल्छ नि । म तिमी जति राम्रो छैन । बरु तिमीलाई पो अरुले उडाउला कि भन्ने चिन्ता छ त मोरी ” मैले पनि जिस्किएर उनको गाला समाउँदै भनेँ । उनको आलिङ्गन जाडोमा न्यानो सिरक भन्दा पनि आरामदायी लागिरहेको थियो । उनको सौन्दर्यपानले म मदमत्त थिएँ । यति रुपवती, आँखैमा राखे पनि नबिझाउने प्रकृतिको साथ पाएर आफूलाई संसारकै भाग्यशाली लागिरहेको थियो । “मलाई जिस्काउनुभएको त होइन नि ? हजुरले धोखा दिनुभयो भने म त यो संसारमै रहँदिनँ है ? मैले त अहिले नै भन्दिएको छु ।” मुख निन्याउरो पार्दै भनिन् । “मबाट त्यस्तो होला जस्तो लाग्यो र प्रकृति ? किन मप्रति विश्वास छैन र ?” मैले उनको कपाल मुसार्दै भनेँ । “नाइँ, तपाईं त्यस्तो त हुनुहुन्न । तर पनि मानिस बदलिन कति बेर लाग्छ र ?” उनले भनिन् । “बरु केटी मान्छेको चाहिँ विश्वास हुन्न रे । भर्याङका सात खुड्किला ओर्लिँदा सातैचोटि निर्णय फेर्छन् रे, भन्थे बूढापाकाले ।” म अझै जिस्किने मुडमै थिएँ । “नाइँ, तपाईं त कस्तो छुच्चो !
अबदेखि बोल्दिनँ, तपाईंसँग ।” रिसाए झैँ स्वाङ पारेर लाडिएर बोलिन् उनी । मेसेञ्जरको रिङ टोन बजेपछि झल्याँस्स बिउँझिएँ । झ्यालको पर्दाको कापकापबाट चुहिएका घामका किरणहरूले मेरा गोडाहरूमा मालिस गरिरहेका थिए । घामका किरणहरूको स्पर्श प्रकृतिको आलिङ्गन जत्तिकै प्रिय लाग्यो । उठेर मोबाइल टिप्दाटिप्दै कल मिस्ड भइसकेको थियो । प्रकृतिले नै कल गरेकी रहिछिन् । मैले कलबाय्क गरेँ । तर उठाइनन् उनले । म उठेर मुख धोई शौचालय गई फर्किँदा फेरि उनको कल मिस्ड भइसकेको रहेछ । यसरी धेरैचोटिको लुकामारी चलेपछि बल्लतल्ल कन्ट्याक्ट भयो । अघिल्लो रातभर प्रकृतिको गाउँमा बत्ती निभेर बिहान आठबजे मात्रै बलेको रहेछ । बेलुका फेरि मेसेञ्जरमा कल गर्ने गरी हामी छुटियौँ ।
बेलुकाका खाना खाइसकेपछि उनले आफ्नो कथा सुनाउन थालिन् । मैले उनले सुनाएका कुराहरू बुँदागतरुपमा कापीमा टिप्नथालेँ । मेरो ध्यान उनका कुरा बुझ्नमा भन्दा उनको रुप, बोलीचाली, हाउभाउमा केन्द्रित थिए । मेरो हात त मात्र मेसिन जस्तै चलिरहेको थियो । मैले उनको कुरा केही बुझिरहेको थिइनँ । देखेपछि हेरिरहन मन लाग्ने, आँखा झिमिक्क पनि गर्न मन नलाग्ने कस्तो रुप होला त्यो । अँगालोमा बेरेर चप्प म्वाइ खाइदिऊँ कि जस्तो लाग्ने गाला । लगभग दुई घण्टा आफ्नो कथा भनिसकेपछि बाँकी भोलि सुन्ने गरी छुटियौँ । मैले सुत्ने प्रयास गरेँ । तर उनको यादले निदाउनै सकिनँ । रात छिप्पिँदै गइरहेको थियो । उनको यादले मन आकुलव्याकुल भइरहेको थियो । मलाई अघि टिपेका कुराहरू पढ्न मन लाग्यो ।
मैले उठेर कापी टिपेँ अनि ओछ्यानमा पल्टेर पढ्न थालेँ । मान्छे त्यति राम्री तर उनको कथा भने निकै कारुणिक र दर्दपूर्ण थियो । उनको कथा हेर्दा आँखाबाट रोक्नै नसकिने गरी आसु झर्यो मेरो । मान्छे यति राम्री तर कथा एकदम दर्दनाक ! तीनचार दिन लगाएर उनले कुरा सुनाइन् । उनको कथाको त उपन्यास बनाउनपुग्थ्यो । यति सानो उमेरमै यति लामो जीवनकथा बुन्न पुगेकी ऐश्वर्याको कथा पढेर त झनै निदाउन कठिन भयो । तीनचार दिन लगाएर कथाका लागि चाहिने घटनाक्रमहरू बटुलेँ । उनलाई चित्त बुझ्ने गरी कथा लेखिदिएँ । मैले लेखेको उनको आफ्नै कथा पढेर धरधरी रोइन् धेरै बेर । कथा लेख्ने काम सकिए पनि हाम्रो मित्रताको गाँठो भने झन् झन् मजबुत बन्दै गयो । हरेकदिन बेलुका सुत्नुअघि धेरैबेर भिडियो कलमा कुराकानी हुन्थ्यो । एक आपसमा हरेक कथाव्यथा साटासाट गर्थ्यौँ ।
एकदिन मात्रै कुरा गर्न नपाए पनि के के न नपाए जस्तो हुन्थ्यो । “सुन्नुस् न । मसँग मोबाइलमा पैसा सकियो भन्या ! एकसय रुपियाँ जति रिचार्ज हालिदिनुस् न है ? म पर्सितिर पठाइदिन्छु ।” एकदिन बेलुका भनिन् । “भइहाल्छ नि ।” भन्दै मैले उनलाई पाँचसय रुपियाँ रिचार्ज गरिदिएँ । मैले फिर्ता नमाग्ने बिचारले दिए पनि तीन चारदिन पछि एकदमै कर गरेर फिर्ता गरिन् । हाम्रो मित्रता झन् झन् बलियो हुँदै गयो । बेलाबेलामा सानोतिनो आर्थिक सहयोग पनि आदान प्रदान हुन्थ्यो । हामीले बिहे गर्नेसम्मको निर्णय गरिसकेका थियौँ । यस्तैमा एकपल्ट उनी धेरैदिनसम्म गायव भइन् । अनलाइन पनि देखिएन । मोबाइल पनि स्वीच अफ थियो । मैले कति प्रयास गर्दा पनि उनीसँग सम्पर्क गर्न सकिनँ । म अत्तालिएँ । मन आकुलव्याकुल भयो । उनलाई केही भयो कि ? अथवा परिवारमा कसैलाई केही भयो कि ? मलाई एकदम छटपटी भयो । भोक र निन्द्रा दुवै हराए । मैले फेसबुकमा भएका सबै साथीहरूसँग बुझेँ । एकजनाले पनि उनलाई चिनेको छु, उनको घरको ठेगाना बताउन सकेनन् ।
अचानक बीसौँ दिनमा मेसेञ्जर उनको कल आयो । उनको कल आएपछि खुशीको सीमा नै रहेन । मेरो यो खुशी कल उठाउने बित्तिकै चकनाचूर भयो । किनभने उनको चेहरा फुङ उडेको थियो । उनी उदास र निराश देखिन्थिन् । “तिमीलाई के भयो प्रकृति ? किन यति धेरै उदास ?” मैले आत्तिएर सोधेँ । उनले रुँदै भनिन्, “बुबालाई हृदयाघात भयो । तीनचार लाख खर्च भइसक्यो । राम्ररी निको भएको छैन । अझै दुई तीन लाख लाग्छ रे । अब कहाँबाट जुटाउनु ? मलाई त अति नै चिन्ता लाग्दैछ । तिमी सक्छौ भने अलिकति सहयोग गर न है ?” त्यत्रो आपद परेको कुरा सुनेपछि कसरी नाइँ भन्नू ? मैले उनको खातामा मसँग भएको पचास हजार रुपियाँ हालिदिएँ । उनले मलाई धन्यवाद भनिन् । भोलिपल्ट सबेरै मलाई काम विशेषले घरबाट निस्कएँ । फेसबुक खोल्नै पाइएन । प्रकृतिको बुबालाई कस्तो छ होला भन्ने चिन्ता लागेकाले फोन गरेँ । उनको मोबाइल अफ रहेछ । कुरा गर्नै पाइएन । घर पुगेर फेसबुक, मुसेञ्जर, व्हाट्स् एप खोलेर हेरेपछि पो म छाँगोबाट खसे झैँ भएँ । उनले त मलाई सबैतिर ब्लक गरिसकेकी रहिछिन् । कति ठूलो सपना देखेको थिएँ उनीबाट ।
एकदम सुशील, असल, मायालु जीवन साथी पाउने भएँ भन्ने खुशीले म गदगद थिएँ । यसरी अचानक विनाखबर गायब हुने मन थियो त मलाई झूटो आशा किन देखाएको होला ? उनको यस्तो अप्रत्याशित धोकाले मेरो मुटु चिराचिरा भए झैँ भयो । कस्ती निष्ठुरीको फेला परिएछ । एक मनले त रिस पनि उठ्यो । साइबर ब्युरोमा उजुरी गरूँ कि जस्तो पनि लाग्यो । तर उनको माया झूटो भए पनि मैले त आफ्नो मुटु दिएको थिएँ । लाग्यो, जहाँ पुगे पनि उनी सदा स्वस्थ, सुखी र दीर्घजीवी रहून् । उनलाई कहिल्यै कुनै प्रकारको विपद नआवस् । त्यसकारण मैले उनी विरुद्ध कुनै प्रकारको उजुरी गरिनँ । ऐश्वर्या, मलाई माफ गर ।
मैले तिमीलाई विशवास गर्न सकिनँ । किनभने यसरी नङ र मासु जस्तो बलियो सम्बन्ध त पैसाका लागि छिनभरमा तोडियो । आजसम्म उनको याद क्यान्सर बनेर यो मुटुमा बल्झिरहेको छ । उनको यादले पलपल मेरो मलाई सताइरहेको छ । उनले फेरि सम्झिहाल्छ कि भनेर घरिघरि मोबाइल चेक गरिरहन्छु । मेरो प्रतीक्षाको घडी झन् झन् लम्बिँदै गइरहेको छ भने तिमीलाई कसरी सहयोग गर्न सकूँला ? २०८१ भाद्र १४ गते शुक्रबार ।