काठमाडौं । जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने जनाएका छन् ।
नेपाललाई युरोपियन यूनियनले ‘एयर सेफ्टी लिस्ट’मा राखेका कारणले जर्मनीबाट पर्यटन आउने क्रम न्यून भएको प्रस्तावित राजदूत रुपाखेतीले जनाए ।
संसदीय सुनुवाइका क्रममा आइतबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा डा. रुपाखेतीले जर्मनीले नेपालप्रति आत्मीय व्यवहार गर्ने भएपनि त्यहाँबाट पर्यटक आउने संख्यामा कमी आएको जनाए ।
नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट निकाल्नका लागि नेपालबाट युरोपियन मुलुकमा रहेका अन्य राजदूतहरूसँग पनि समन्वय गरेर भूमिका खेल्ने प्रस्तावित राजदूत रुपाखेतीले जनाए ।
पेशाले चिकित्सक रुपाखेतीले जर्मनसँग नेपालको ‘हेल्थ डिप्लोमेसीमा भूमिका खेल्ने’ जनाएका छन् । उनले अब चिकित्सक पनि राजदूत हुन पाउछन् भन्ने स्थापित भएको जनाए । उनले नेपालमा जर्मनीबाट विगतमा पनि ठूलो सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा त्यो सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगमा बढावा दिने जनाए।


















