निजी अस्पतालले बीमाको सुविधा दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

40

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिनुपर्ने जनाउनुभएको छ।

शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको जनाउनुभएको हो।

उहाँले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालमा बीमा सुविधा हुनुपर्ने जनाउनुभयो। त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने जनाउनुभयो। उहाँले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताउनुभयो। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने। निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। निजीमा महँगाे हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ। सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ।’

उहाँले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गर्नुभयो। उहाँले हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गर्नुभयो। उहाँले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दा पनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढङ्गले सेवा दिनुपर्ने जनाउनुभयो।

उहाँले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने जनाउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here