उपत्यकाको ६ ठाउँमा भेटिए बर्डफ्लु

67
Swabbing barred rock mix breed rooster to test for avian influenza

काठमाडौं ।  उपत्यकाको ६ ठाउँमा बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागका अनुसार ललितपुर १५ स्थित खुमलटार, भक्तपुर- १० चाँगुनारायण, नागार्जुन- ६ रामकोट, तारकेश्वर- १ र ७ र काठमाडाैं महानगरपालिका- १० शंखमुलमा ‘बर्डफ्लु’ भेटिएको हो ।

‘केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा बर्डफ्लु पुष्टि भएको छ,’ पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने । बर्डफ्लु नियमावली अन्तर्गत प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइसकेको उनले दाबी गरे । ढकालका अनुसार ६ ठाउँबाट ५ सय वटा हास, ५ हजार ५ सय ३१ वटा व्यवसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ । त्यस्तै १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तवरले नष्ट गरिएको उनले बताए । सबैभन्दा बढी नागार्जुन र तारकेश्वर बढी प्रभावित देखिएको विभागले जनाएको छ । तारकेश्वरमा गत वर्ष पनि वर्डफ्लु भेटिएको थियो ।

‘व्यवसायिक रुपमा कुखुरा पाल्नेमा बढी संक्रमण देखियो, त्यस क्षेत्रमा हाल रोग पूर्ण रुपमा नियन्त्रण लिएका छौं,’ ढकालले भने, ‘यद्यपि निगरानी कार्यलाई निरन्तरता दिएका छौं ।’ नेपालमा २०६० सालमा झापाबाट बर्ड फ्लु सुरु भएको हो । गत वर्ष पनि उपत्यकासँगै कर्णाली प्रदेशको सुर्खेतमा पनि बर्डफ्लु भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here