आईएमएफले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखियाे

27

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको जनाएको छ ।

नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ)को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म नेपालमा बसेको आईएमएफ टोलीले यस्तो निस्कर्ष निकालेको हो ।

आईएमएफ प्रतिनिधिमण्डलको नेतृत्व गरेकी सार्वत जहाँले विज्ञप्ति जारी गर्दै पछिल्ला समयका तथ्यांकले आयात वृद्धि सकारात्मक बन्न थालेको, कर संकलनमा सुधार हुँदै गएको तथा सार्वजनिक लगानी बढ्न थालेकोले अर्थतन्त्रमा सुधारका प्रारम्भिक लक्षण देखिएको जनाएकी हुन् ।

कर्जाको विस्तारमा सुधार हुँदै गए पनि अझै पनि यो नोमिनल आर्थिक वृद्धिभन्दा निकै तल रहेको आइएमएफले बताएको छ । वस्तुको मूल्यमा आएको कमी तथा कमजोर मागका कारण गत आर्थिक वर्षको अन्त्यमा मूल्यवृद्धि ३.६ प्रतिशत रहेको आइएमएफले जनाएको छ ।

बलियो रेमिट्यान्स, पुनरुत्थान हुँदै गएको पर्यटन तथा अझै बढ्न नसकेको आयातका कारण विदेशी मुद्राको सञ्चिति निरन्तर बढिरहेको आईएमएफको भनाइ छ । तर, दिगो, बलियो तथा समावेशी आर्थिक वृद्धिको बाटोमा मुलुकलाई लैजानका लागि सुधारको गतिलाई बढाउनुपर्ने आइएमएफको सुझाव छ । ‘यसका लागि सार्वजनिक खर्चको कार्यान्वयनलाई तीव्रता दिनु, आन्तरिक राजस्व परिचालनलाई अझै बलियो बनाउनु तथा बालबालिकाको अनुदानको भुक्तानी तत्काल हुनुपर्छ’, आईएमएफले जनाएको छ ।

१० ठूला बैंकको सम्पतिको मूल्यांकन तत्काल गर्नुपर्ने

आईएमएफले १० वटा ठूला बैंकको  एसेट पोर्टफोलियो रिभ्यु तत्काल गर्नुपर्ने कुरामा जोड दिएको छ । बैंकहरुको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको आइएमएफले जनाएको छ ।

बचत तथा ऋण सहकारीको जोखिमलाई सम्बोधन गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने पनि उसले बताएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनमा भएको हालैको संशोधनलाई आईएमएफले स्वागत गरेको छ तर नेपाल राष्ट्रबैंक ऐनमा संशोधन तथा राष्ट्रबैंकको बाह्यलेखापरीक्षणलाई उसले प्राथमिकतामा राख्न भनेको छ ।

लगानी सहजीकरण ऐनले नेपालमा लगानीको वातावरणमा सुधार ल्याउने अपेक्षा उसले गरेको छ । आईएमएफसँग गरेका सुधारका लागि नेपालका निकायहरुको प्रयासलाई आईएमएफले स्वागत गरेको छ ।

सुधारका लागि भएका कामबारे ईसीएफको पाँचौँ समीक्षामा औपचारिक रुपमा मूल्यांकन गरिने बताइएको छ । नेपालले आईएमएफसँग करिब ४० करोड अमेरिकी डलरको विस्तारित कर्जा सुविधा लिएको छ, जसको चौथो किस्ता नेपालले लिइसकेको छ । आइएमएफको टोलीसँग एसिया प्यासिफिक विभागकी उपनिर्देशक रुपा दत्तागुप्ता पनि थिइन् । टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग भेटघाट गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here