बोस्टन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर शनिबार अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात् उक्त सम्झौता भएको हो । सम्झौताअनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठानमार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिपलगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ ।
हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको जनाइएको छ । सम्बोधनपछि नेपाली समुदायका चिकित्सकसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका साथै निरोगी नेपाल अभियानलाई सघाउन आग्रह गरे ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास प्रमुख प्रा डा माइकल फ्युटले नेपालको प्रधानमन्त्री विश्वविद्यालयमा पहिलो पटक आइपुग्दा आफूहरुमा पनि उत्साह पैदा भएको जनाए ।


















