आजदेखि मौसममा पुन: बदली

26

काठमाडौं । विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरू भएको हो।

अहिले कोशीमा बादलले ढाकिसकेको छ। भने, त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ। मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ। भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ।’

यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ। तर, ठूलो अनि लगातारको वर्षा भने नहुने मानन्धरले बताइन्। यसअघि ३ दिनको लगातारको झरीले देशभर जमिन गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन्। आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ। असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here