झ्याप्ले खोलामा पुरिएर १३ जनाको मृत्यु

42

पोखरा । झ्याप्ले खोलाको पहिरोमा पुरिएर मृत्यु हुनेको पहिचान खुलेको छ । धादिङको धुनिवेशी नगरपालिका- ९ झ्याप्ले खोलामा खसेको पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।

असोज ११ गते सडकमाथिबाट खसेको पहिरोले दुई वटा माइक्रो र एउटा बस पुरिएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने सबैको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जनाए ।

‘पहिचान खुलेर पनि शव आफन्तलाई बुझाइसक्यौं,’ उनले भने । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । झ्याप्ले खोलाको पहिरोमा गण्डकी प्रदेशका १३ जनाले ज्यान गुमाएका छन् । गोरखाका ५ जना, स्याङजाका ३, बागलुङका २, तनहुँका २ र पर्वतका १ जनाको मृत्यु भएको छ ।

गोरखाको भिमसेन गाउँपालिका- ४ का ४७ वर्षीय मदन परियार दमै, भिमसेन गाउँपालिका- ४ का १५ वर्षीय विनायक भट्टराई, धार्चे गाउँपालिका- ७ का २७ वर्षीय सुके दमै, बारपाक सुलिकोट गाउँपालिका- ७ का २८ वर्षीय नवराज पन्त, गण्डकी गाउँपालिका- ४ का ४० वर्षीय नवराज तिवारीको मृत्यु भएको छ ।

स्याङजाको गल्याङ नगरपालिका- ३ की ४५ वर्षीया सिता भट्टराई, दीपिका भट्टराई र दिपेश भट्टराई रहेका छन् । तनहुँको भानु नगरपालिका- ३ का २६ वर्षीय जनक कुवँर, व्यास नगरपालिका- ५ का ३४ वर्षीय लेखनाथ ओझा, बागलुङको बडिगाड गाउँपालिका- २ का ५२ वर्षीय इन्द्रजीत राना र भीमकुमारी राना रहेका छन् ।

पर्वतको कुश्मा नगरपालिका- २ का ३१ वर्षीया पुष्पा शर्माको पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । असोज ११ गतेपछि बाढी पहिरोमा परेर हालसम्म देशभर २३३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । २२ जना अझै वेपत्ता छन् भने १६९ जना घाइते भएका हुन् । १७ हजार १२० भन्दी बढी प्रभावितको उद्धार गरेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here