सामाखुसी यातायात प्रालिद्वारा १५ वटा बस सञ्चालनमा

46

काठमाडौं । सामाखुसी यातायात प्रालिले ७ करोड रुपैयाँको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ।

विसं २०५७ मा काठमाडौं उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे।

प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए।

“काठमाडौं उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,” उनले भने। काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थपिएको उनको भनाइ थियो।

अध्यक्ष प्रजापतिले शुरुआतमा ९ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए।

उक्त यातायातले काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए। प्रालिले हाल ३५० जना चालक तथा सहचालकलाई रोजगारी दिइरहेको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here