विराटनगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको एक सय दिनमा कुनै सकारात्मक काम गर्न नसकेको आरोप लगाएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरागर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले एकसय दिनमा सकारातमक काम गर्न नसकेको हुँदा समीक्षा गर्नुपर्ने अवस्था आइनसकेको जनाएका हुन् । वर्तमान सरकारले सामान्य संसदीय पद्धति र परम्परालाई आत्मसात गर्न नसकेको बताउँदै उनले सरकार निरंकुशतातर्फ अघिबढ्ने संकेत पाइरहेको जनाए ।
उनले भने,’अहिलेको सरकारले संसदीय पद्धति र मान्यतालाई पालना गरेको देखिँदैन । हाम्रो मुलुकमा दुवै पार्टी मिलेर निरंकुशतातर्फ जाने संकेत भएको सुरुमै भनेका थियौँ । अहिले सोही दिशातर्फ सरकार अघि बढिरहेको छ । अन्य दललाई हस्तक्षेप गर्न, विभाजन गर्नका लागि अध्यायदेश ल्याउन सरकारको तयारी देखिएको छ । जुन स्वभाविक होइन ।’
उनले मुलुकको परिस्थिति दुईवटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने खालको नभएको जनाए ।
बाढी पहिरो र डुबानमा परेकाहरुको नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारको भूमिका नदेखिएको उनले बताए । नागरिकलाई राज्य , सुशासनको प्रत्याभूति गराउनुपर्ने सरकारले केही भूमिका नखेलेका कारणपनि एक सय दिनको समीक्षा र मेहनत गर्नुपर्ने स्थिती नभएको उनको भनाई छ ।
त्यसैगरी, रास्वपाका सभापतिको पक्राउको विषयमा उनले छानविन र अनुसन्धान भेदभावपूर्ण भएको आशय ब्यक्त गरेका थिए । यस्तै, माओवादीको ध्यान यतिबेला सरकारमा नरहेको उनले प्रस्टाए । उनले भने, ‘अहिले हाम्रो ध्यान सरकारतिर छैन । आन्दोलन सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन। जनताको समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने पनि प्रतिपक्षको काम हो । त्यसकारण हामीले विरोध गरेका हौँ ।’


















