झापा । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो ।
विर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन् । ‘यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरुवा मरे’, उनले भनिन्, ‘सोच जति फूल फूलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो ।’
तिहारमा मात्र होइन न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री नेपालीहरुले धेरै मन पराउने फूलमा पर्छ । सभा समारोह सजाउन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्ने गरिन्छ ।
विगतमा जिल्लामा २० बिघा भन्दाबढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यसवर्ष भने घटेको अनुमान छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कठ्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन् ।


















