अमेरिका अहिलेपनि एक नम्बरको महाशक्ति राष्ट्र

27

काठमाडौं । वरिष्ठ कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व परिवेशमा नै परिवर्तन आउने हुँदा नेपालले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने जनाएका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा ‘अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कुटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभावका बारेमा’ आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले अमेरिका अहिलेपनि एक नम्बरको महाशक्ति राष्ट्र भएकोले अमेरिकाको निर्वाचन र नयाँ राष्ट्रपति आउँदा विश्वभरि नै असर पर्ने सुनाए ।

उनले भने,‘अमेरिका अहिलेपनि एक नम्बर महाशक्ति भएको हुनाले अमेरिकामात्रै नभएर विश्वभरि त्यहाँको निर्वाचनको असर पर्छ । नेपालमा पनि असर पर्छ । यो सत्य कुरा हो । कमला ह्यारिसले जितेको भए, पूरानै नीति कायम हुन्थ्यो । कोल्ड वार बढाउने, युक्रेनको युद्ध जारी राख्ने अनि इजरायल–प्यालेस्टाईनको युद्धलाई झन चर्काउने हुन्थ्यो, तर ट्रम्पले युक्रेन वार अन्त्य गर्न २४ घण्टाभित्र पहल गर्छु भनेको छ । अब उसको चाईनासँग प्रतिष्पर्धा बढ्छ । ट्रम्पले इकोनोमी डिप्लोमासी गर्छु भनेको छ । ट्रम्पले त युद्धले अर्थतन्त्रलाई बिगारेको निश्कर्ष निकालेका छन् । उ आर्थिक सुधार गर्न चाहन्छ । ट्रेड वार चीनसँग गर्न चाहन्छ । युक्रेनमा चाँडै अन्त्य भएपनि इजरायलमा तुरुन्तै युद्ध रोक्लाजस्तो छैन् । किनकी ट्रम्पको इजरायलसँग घनिष्ठ सम्बन्ध छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले अमेरिका र चीनबीच राम्रो सम्बन्ध होस भन्ने चाहेको बताए । उनले भने,‘नेपाल चीनसँग सिमा जोडिएको देश हो । अमेरिका र चीनबीच द्धन्द्ध बढ्दै गयो भने चीनलाई छेक्ने नीति ट्रम्पले अपनाउँछ । विश्वभरि युद्ध नचर्कियोस भन्ने अमेरिकामा पनि दबाब छ । हामीलाई त अमेरिका र चीनबीच राम्रो सम्बन्ध होस भन्ने छ ।’

श्रेष्ठले अहिलेपनि अमेरिका र भारतबीच पनि राम्रो सम्बन्ध नभएको खुलासा गरे । उनले भने,‘भारतको हालैको निर्वाचनमा मोदीलाई साईज डाउन गर्न र झण्डै हराउन अमेरिका लागेको थियो । मोदीले मुस्लिम र क्रियश्चियनलाई भेदभाव गर्यो भनेर । काश्मिर इस्युमा अमेरिका र भारतको कुरा मिल्दैन् । चीनविरोधी गतिविधि गर्नमात्रै अमेरिका र भारत मिल्छन् । अहिले चीनसँग भारतले सम्बन्ध सुधार गरेको छ । बहुध्रुवीय विश्वनेताहरुमध्ये मोदी र सि जिनपिङ हो ।’

अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जितेका ट्रम्पसामू पनि चूनौति रहेको उनको भनाई छ । उनले भने,‘युक्रेन युद्धपछि एक ध्रवीय नीति फेल भएर बहुध्रुवीय विश्व निर्माण भएको छ । अहिले भारत, रुस, चीन, इरान, इण्डोनेसिया बहुध्रवीय विश्व निर्माणमा लागेका छन् । नेपालको हितपनि बहुध्रुवीय विश्व व्यवस्थामा छ । नेपालमा यसपालि सरकार कमजोर भएकोले पाकिस्तानको सांघाई कोअपरेशनमा निम्तो आएन । नेपालले द्धिपक्षीय सम्बन्ध भारत, चीन, अमेरिका सबैसँग राख्नुपर्छ । दुई छिमेकी मुलुक भारत र चीनविरुद्ध अरू तेस्रो मुलुकसँग गठबन्धन गर्नुहुँदैन । हामीले कसैको पनि सैनिक छाता ओढ्नुहुँदैन् । ट्रम्पको पालामा नाफा र घाटाको हिसाब हुन्छ । यो बेलामा हामीले पनि इकानोमी डिप्लोमेसीलाई प्राथमिकतामा राख्नुपर्छ । हामी कसैको पनि सुरक्षा तानातानमा नफस्ने हुनुपर्छ । जापान, इयु सबैसँग सहयागे लिनुपर्छ । इस्ट–वेष्ट हाईवे बनाउँदा सबै देशको सहयोग लिएजस्तै हामीले सबैसँग सहयोग लिन सक्नुपर्छ । नेपालले चीन, भारत र अमेरिका कसैको बेस बन्न दिँदैन् । सबैसँग मित्रता बढाऔं, कसैको सुरक्षा पुच्छर नबनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here