सबै आमाले बच्चासँग मातृभाषा बोल्नुपर्छः सञ्चारमन्त्री गुरुङ

42

तनहुँ । सञ्चार प्रविधि तथा सूचनामन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, संस्कृति, सभ्यता लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।

तनहुँको दमौलीमा शनिबारदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले आफ्नो पहिचान प्रति गर्व गर्न नसक्दा भाषा, संस्कृति, सभ्यता हराउँदै गएको बताउनुभयो।

नेपाली धेरै जातजात, भाषाभाषी रहेको उल्लेख गर्दै मन्त्री गुरुङले सबै जातिका आमाले मातृभाषा बोल्नुपर्ने बताउनुभयो।

आमाले बच्चासँग मातृभाषा बोलेनन् भने बच्चाले भाषा नजान्ने र भाषा नजान्नेले सभ्यता, भोषभुषा र संस्कृतिप्रति पनि रुचि नराख्ने उहाँको भनाइ छ ।

मन्त्री गुरुङले भन्नुभयो, “हरेक आमाले आफ्नो मातृभाषामा कुरा बच्चालाई सिकाउनुहोस् आमाले नबोले बच्चाले सिक्न खोज्दैनन्। मातृभाषाको साथसाथै अङ्ग्रेजी भाषामा पनि दख्खलता राख्नुपर्छ ।”  अन्तर्राष्ट्रिय व्यापार, ज्ञान र खोजको लागि अंग्रेजी सिक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

देशमा शिक्षा नीति परिवर्तन गरेर रोजगारी दिने शिक्षा प्रदान गर्न जरुरी रहेको मन्त्री गुरुङको भनाइ थियो। धेरै युवा रोजगारीको खोजीमा  विदेशीनु परेको प्रशङ्ग ल्याउँदै गुरुङ युवालाई स्वदेशमै रोजगारी र स्वरोजगार हुने शिक्षा दिनुपर्ने बताउनुभयो।

सूचना र सञ्चारको युग भएकोले सूचना र प्रविधि (आईसिटी),  प्राविधिक शिक्षा प्रदान गरेर युवालाई स्वदेशमै भुलाउने वातावरण बनाउनुपर्ने गुरुङको भनाइ थियो।

समय सापेक्ष र विश्वको आवश्यकता अनुसार शिक्षा प्रदान गर्न सरकारले योजना बनाइरहेको गुरुङले बताउनुभयो । मन्त्री गुरुङले युवालाई राजनीतिमा आउन आग्रह गर्नुभयो।

विद्यार्थी सङ्गठनमा लागेका युवाले सङ्गठनबाट राजनीतिको कखरा सिक्नुपर्ने र त्यसकै जगमा पार्टीमा आबद्ध भएर राजीतिक नेतृत्व लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतले पर्यटकलाई आकर्षित गर्न संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्नुका साथै अतिथि सत्कारको लागि ज्ञान हासिल गरेर आर्यआर्जन गर्न सबैले ध्यान दिन जरुरी रहेको कुरामा जोड दिनुभएको थियो।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको महाधिवेशनमा विभिन्न जिल्लाका पाँच सय प्रतिनिधिसहित एक हजार पाँच सय जनाको सहभागिता छ।

महाधिवेशन उद्घाटन समारोह अगाडि दमौलीमा जातीय वेषभूषासहित सांस्कृतिक झाँकी निकालिएको थियो। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले वि.सं. २०५२ माघ २६ गते स्थापना भएको राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले बताउनुभयो। तनहुँ जिल्लामा आउनको लागि सहज  हुने भएकोले कार्यक्रम यहाँ गरिएको उहाँले जानकारी दिनुभयो। gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here