काठमाडाैं । लक्ष्मी र सनराइज बैंकले एक–आपसमा गाभिने (मर्जर) प्रस्ताव आ–आफ्नो साधारणसभाबाट पारित गरेका छन् । आइतबार बैंकहरूको छुट्टाछुट्टै साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको हो । लक्ष्मी बैंकले विशेष साधारणसभा बोलाई यो प्रस्ताव पारित गरेको थियो ।
साधारणसभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच १:१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको हो । सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपछि वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
साधारणसभाले आव ०७८/७९ को नाफा–नोक्सान हिसाब नगद प्रवाह विवरण ०७९ साल असार मसान्तको वासलात तथा आव ०७८/७९ को वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदनसहितको साधारण प्रस्ताव पनि पास गरेको थियो । मर्जर भएपछि बन्ने बैंकको नाम लक्ष्मी सन्राइज बैंक हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।
गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । उपर्युक्त सम्झौतापत्र दुवै बैंकको साधारणसभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।
लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सन्राइज बैंकका अध्यक्ष मोतीलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरू डा. मनीष थापा र स्वाति रुंगटा र सन्राइज बैंकका तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दीपक नेपाल रहेका छन् ।
मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । अहिले लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ । त्यस्तै, ११ अर्ब २४ करोड रुपैयाँ जगेडा कोष हुनेछ । अहिले लक्ष्मीको जगेडा कोषमा चार अर्ब ५५ करोड रुपैयाँ र सन्राइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ ।
मर्जरपछिको बैंकको कर्जा दुई खर्ब ४८ अर्ब रुपैयाँ पुग्नेछ । अहिले लक्ष्मीको एक खर्ब २९ अर्ब रुपैयाँ र सनराइजको एक खर्ब १९ अर्ब रुपैयाँ छ । त्यस्तै, निक्षेप दुई खर्ब ६५ अर्ब रुपैयाँ पुग्नेछ । अहिले लक्ष्मीको एक खर्ब ४० अर्ब रुपैयाँ र सन्राइज बैंकको एक खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।


















