आजदेखि नागढुङ्गा सुरुङमार्गमा सवारीसाधन प्रवेशमा दस्तुर लिने

11

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आजदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लागु गरेको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार आज आइतबारदेखि टोल शुल्क उठाउन लागेको आयोजनाले जनाएको छ ।

सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ ।

त्यस्तै, मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ ।

त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि  काठमाडौं प्रवेश गर्दा रु २६० र काठमाडौँबाट प्रस्थान गर्दा रु २०० दस्तुर तोकिएको छ ।

त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौं प्रवेश गर्दा रु ६०० र काठमाडौँबाट प्रस्थान गर्दा रु २५० दस्तुर तोकिएको छ । यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर  सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here