आर्थिक विकास गर्न सरकार चुक्न नहुने

36

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने जनाएका छन्।

शनिवार काठमाडौँमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने जनाए।

उनले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता भएको जनाए।

उनले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको उल्लेख गरे। उनले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरू तय गरी लागू गर्नुपर्ने जनाए।

उनले भने, ‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शास्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो । लोकतन्त्रको यही आलोकलाई अंगीकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्नु हुँदैन ।’

राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक भएको उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here