बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न

45

काठमाडौं । बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एसियाली पहल (साइवाग) रहेका थिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री साहले बालबालिकाहरु भोलिका कर्णधार भएको भन्दै अहिलेको बालबालिकामा भोलिको सुन्दर नेपालको नेतृत्वकर्ता देखिरहेको बताउनुभयो । उहाँले महिला हिंसाविरुद्ध १६ दिने अभियान समेत सुरु भएको भन्नुहुँदै उहाँले सम्मेलनमा सहभागी बालबालिकालाई उमेर नपुगी विवाह नगर्ने र दाइजो नलिने नदिने प्रतिज्ञा गर्न आग्रह गर्नुभयो ।

उहाँले कम उमेरमा विवाह गर्ने कानुन २० वर्ष अघि नै बनेको भन्दै कानुनले मात्रै समस्या समाधान नहुने जनाउनुभयो ।कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले सम्मेलनले जारी गरेको २५ बुँदे घोषणापत्रलाई परिषद्ले कार्यान्वयन गर्ने जनाउनुभयो । उहाँले बालबालिकालाई तेस्रो आँखाबाट क्रियटिभ थिङ्किङ गर्न आग्रह गर्नुभयो । उहाँले  फिनल्याण्डमा ३२ वर्षको उमेरमा प्रधानमन्त्री भएको उदाहरण दिँदै अहिलेका बालबालिकाहरू त्यो अनुहार देखिरहेको जनाउनुभयो ।

कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले एउटा चियापसलमा बनेको योजनाले भव्य सम्मेलन आयोजना गर्न सम्भव भएको भन्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो । समापन कार्यक्रममा साइवागका महासचिव रिञ्चेन छोपेल, एनएसीजी नेपालकी ऋतु भट्टराई लगायत आयोजक संस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी र सातै प्रदेशबाट आएका बालबालिकाहरु समेतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here