काठमाडाैं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आगामी शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको उद्घाटन खेलको १० हजार टिकट तीन दिनभित्र बिक्री भएको छ । क्यानले गत सोमबारदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको हो ।
खल्ती एपबाट टिकट बिक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । उद्घाटन खेलमा छुट्याइएको भिआइपीतर्फ आठ सय टिकट बिक्री भइसकेको लामाले बताए । उनका अनुसार सर्वसाधारणतर्फका लगभग सबै टिकट बिक्री भएको छ । क्यानले त्रिवि मैदानमा १५ मंसिरमा हुने उद्घाटन खेल हेर्न साधारणको तीन सय र भिआइपीको सात सय टिकट मूल्य राखेको छ । क्यानले अन्य दिनका लागि १३ हजार टिकट बिक्री गर्ने लक्ष्य राखेको छ । एनपिएलको चर्चा बढेसँगै टिकट किन्नेको संख्या अस्वाभाविक रूपले बढेको क्यानले जनाएको छ ।
दर्शकले एउटै टिकटमा दुई खेल हेर्न सक्ने क्यानका प्रवक्ता लामाले बताए । ‘एउटै टिकटबाट दिनमा हुने दुई खेल हेर्न पाउने व्यवस्था गरेका छौँ,’ उनले भने । क्यानले लिग खेलको साधारणमा तीन सय र अन्य जोनमा पाँच सय टिकट मूल्य राखेको छ । यसैगरी सिजनल पासका लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भिआइपीतर्फ आठ हजार २४० रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।
सुदूरपश्चिमलाई मेट्रो अस्पतालको साथ
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो अस्पतालले मेडिकल पार्टनरका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिमले यसअघि एसपिएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भिœयाएको थियो । सुदूरपश्चिमका मार्की खेलाडी कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।
चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस
एनपिएलको फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा चितवनको खेल हेर्न चाहने समर्थकलाई चितवनदेखि पाँचवटा बस व्यवस्थापन गरेको छ । बस चितवनको खेल हुने दिन बिहान ३ बजे छुट्नेछ । बसमा यात्रा गर्नेलाई खाजाको पनि व्यवस्था भएको राइनोजले जनाएको छ । चितवनको पहिलो खेल १७ मंसिरमा काठमाडौं गुर्खाजसँग छ ।
विराटनगरले उपाधी जितेमा ३० लाख पाउने
विराटनगर/कोशी प्रदेश सरकारले एनपिएलको उपाधि जित्दा विराटनगर किंग्स टोलीलाई नगद ३० लाख पुरस्कार दिने घोषणा गरेको छ । विराटनगरका खेलाडी र प्रशिक्षकलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिदाइ गर्दै विजेता हुँदा ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । कार्कीले कोशी प्रदेशले ट्रफी उचाल्ने दाबी गरेका छन् ।

















