‘विप्लव’ ले शीर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दियाे

55

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको विप्लवसहित सो पार्टीका शीर्ष नेताहरुले बुधबार साँझ पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

देउवासँगको भेटमा नेकपाका महासचिव विप्लवसहित प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उपस्थित रहेका थिए । साे भेटवार्तामा सरकार र विप्लव नेतृत्वको नेकपाबीच २०७७ सालमा भएको भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

नेकपाका केन्द्रीय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटवार्तामा सत्ता गठबन्धनमा सामेल र संसद्मा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आफूहरुसँग भएको ३ बुँदे सहमति कार्यन्वयनमा पहल लिन आग्रह गरेका थिए ।

यसैगरी महासचिव विप्लवले तीन बुँदे सहमति विपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको हुनाले नेपाली कांग्रेसलाई विशेष पहल लिन आग्रहसमेत गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको जानकारी गराउदै उक्त उत्पादनका कार्यलाई सरकारी तवरवाट विशेष सहयोग उपलब्ध गराउनु पर्ने प्रस्ताब समेत राखेका थिए ।

सो भेटमा देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफू दृढ भएको बताउँदै सरकारसँग छलफल गरेर यसलाई छिट्टै टुङ्गोमा पुर्याउने जनाएका थिए । उनले प्रधानमन्त्री ओली चीन भ्रमण सकेर फर्केपछि यस विषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने समेत प्रतिबद्धता व्यक्त गरे । लामो समय प्रतिबन्धित रहेको विप्लव समूह २०७७ साल फागुनमा सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

२०७७ साल फागुन २० मा भएको सहमति अनुसार विप्लव नेतृत्वले आफ्ना सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा अघि बढाउने, नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने तथा सम्पूर्ण बन्दीको रिहाइ गर्ने तथा मुद्दा खारेजी गर्ने लगायत सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here