काठमाडौं । नेपालले वैदेशिक व्यापार गर्नेमध्ये चीन र भारत मुख्य दुई देश हुन् । नेपालको कुल वैदेशिक व्यापारको करिब ८० प्रतिशत भारतसँग हुन्छ भने बाँकी अन्य देशसँग हुँदै आएको छ । बाँकी करिब २० प्रतिशतको हिस्सामा सबैभन्दा बढी योगदान चीनको छ ।
त्यस्तै नेपालबाट जडीबुटी, च्याउ, चिया, अगरबत्ती, कुकुर र बिरालाको खाना, छालाको वस्तु, बाँसका फर्निचर लगायत वस्तु निर्यात हुँदै आएका छन् । तर नगण्य मात्रामा मात्रै । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष चालु आव २०८१/८१ को कार्तिकसम्म नेपाललाई चीनसँगको व्यापारमा मात्रै १ खर्ब २ अर्ब ५० करोड १ लाख रुपैयाँ व्यापार घाटा भएको छ । चार महिनाको अवधिमा चीनबाट १ खर्ब ३ अर्ब १८ करोडको वस्तु आयात हुँदा नेपालले मात्रै ६८ करोड २३ लाखको निर्यात गरेको छ ।
भन्सार विभागका अनुसार आव २०७८/७९ चीनले नेपाललाई २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँको वस्तु बेचेको थियो । तर नेपालले ८० करोड ८७ हजार ५४ लाखको समान मात्रै चिनियाँ बजारमा पठाउन सक्यो । जसबाट नेपाललाई एकै वर्षमा २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ घाटा भयो ।
आव २०७९/८० २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ नेपाललाई घाटा भएको छ । भन्सार विभागका अनुसार उक्त आवमा २ खर्ब २२ अर्ब ७१ करोड ५९ लाखको आयात गर्दा नेपालले जम्मा १ अर्ब ७६ करोड ५७ लाखको सामग्री निर्यात गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा पनि नेपाललाई चीनसँगको व्यापारमा ठुलो घाटा भएको छ । गत आव २०८०/८१ मा २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाखको सामान आयात गर्दा नेपालले चीनलाई २ अर्ब ५८ करोड ८६ लाखको वस्तु निर्यात गरेको थियो । यसबाट नेपालले २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख घाटा बेहोरेको छ ।
















