काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको उनको भनाइ छ ।
प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’
उनकै शब्दमा विभिन्न स्थानमा अवाञ्छित गठबन्धन बनेका थिए । ती गठबन्धनलाई पनि चिर्न पार्टी सफल भएको प्रचण्डको निष्कर्ष छ । यसबाट माओवादी केन्द्रले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि हुने प्रचण्डको ठहर छ ।
उनले आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

















