काठमाडौं । तीन मानवअधिकारवादी अन्तराष्ट्रिय संगठनहरुले संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोग गठनका लागि तत्काल प्रभावकारी सिफारिस समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
एम्नेष्टी इन्टरनेशनल, ह्यूमन राइट वाच र इन्टरनेशनल कमिसन अफ जुरिष्टले एक विज्ञप्ति जारी गर्न तत्काल प्रभावकारी रुपमा सिफारिस समिति गठन गर्न र विश्वसनीय पदाधिकारीहरुको सिफारिस हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।
१ पुस, २०८१ मा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको पदावधि समाप्त भएको छ । समितिले सार्वजनिक गरेको नामावलीमा पनि द्वन्द्वपीडितहरुले असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ दलमध्येको एक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यही व्यहोराको पत्र पठाउदै उनीहरुले यसअघि सिफारिस समितिले सार्वजनिक गरेका नाममा व्यापक असन्तुष्टि भएकाले फेरि प्रक्रिया थाल्न आग्रह गरेका छन् ।


















