काठमाडौं । फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।
९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले फोटोले पाठकलाई आकर्षित गर्ने र समाचारलाई विश्वसनीय बनाउने धारणा राखे । उनले पत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिए ।
फोटो पत्रकार क्लब नेपालका अध्यक्ष श्रुति श्रेष्ठले क्लबले फोटो पत्रकारको पेशागत हक हित र सुरक्षामा काम गर्दै आएको जानकारी दिँदै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारहरुले भोग्नु परेका जोखिमहरुलाई समावेश गरेर फोटो प्रदर्शनी आयोजना गरेको बताइन् ।
नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी मंगलबार अपरान्ह ५ बजेसम्म चल्ने प्रवक्ता विकास द्वारेले जानकारी दिए ।


















