काठमाडौं । सप्तरी, बलानविहुल गाउँपालिका-६ शेहरा चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिले ४ वटा पोका फाली फरार भएश्चात पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । मोरङ, बिराटनगर महानगरपालिका-१८ लाभाघाटस्थित फोर लाईन सडक छेउबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । पर्सा, छिपहरमाई गाउँपालिका-३ बुढगाईस्थित खेतमा धानको परालभित्र लुकाई छिपाई राखेको अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बुढगाईबाट खटिएको प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।