काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैलाएको जनाएका छन्।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै उनले लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन्।
उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए। उनले माथिल्लो तामाकोशी र कालीगण्डकी बन्नेबित्तिकै लोडसेडिङ समस्या समाधान हुने उल्लेख गरे।
उनले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए। उनले उद्योगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा गर्यो भन्दै हल्ला फैलाउन व्यस्त भएको जनाए।
उनले माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिए। उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको जनाए।
जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनुको विकल्प नभएको उल्लेख गरे। उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्ने बताए। उनले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको जनाए।


















