काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिना प्रकरणमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले उक्त जग्गा गलत ढंगले कसैको नाममा गएको भए फिर्ता हुने बताए।
‘यस विषयमा अनुसन्धान हुन्छ, कारबाही अघि बढ्छ,’ उनले भने, ‘त्यो जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुन्छ।’
गैरकानुनी ढङ्गबाट भएको भ्रष्टाचारजन्य कार्य, सरकारी र सार्वजनिक सम्पत्ति हिनामिनामा सरकार चुप नलाग्ने र सरकारी सम्पत्ति फिर्ता ल्याउने उनको धारणा थियो।
यस्तै, गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको जनाए।
उनले भने, ‘सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको छ, सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध छ।’
मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको जनाउँदै उनले जनताबाट आवधिकरुपमा निर्वाचित भएर राजनीतिक दलबाट गठन भएको सरकार मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्षम हुने जिकिर गरे।
‘सरकारमाथि सबैले विश्वास गर्नुपर्छ, कमी कमजोरी भए खबरदारी गर्नुपर्छ,’ उनले भने। उनले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र कारबाही जहिले पनि हुनसक्ने स्पष्ट पारे।


















