महिलालाई आरक्षणका साथमा समानता : राष्ट्रपति भण्डारी

295
swaviman.com

काठमाडौं / आज १०९औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभागृहमा आयोजित नारी दिवस विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर , हवाईजहाज चढेर मात्र समृद्धि नआउने जनाउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने जनाउनुभयो । ‘महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला पीडित हुनु भनेको पुरुष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतनामार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

कानुनले अन्त्य गरिसकेको छाउपडी ,बोक्सी, बालविवाह, बहुबिवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै भण्डारीले यस्ता प्रथालाई जरोदेखि नै समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो औंल्याउनुभयो । भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी बढाउनसमेत सरकारसित आग्रह गर्नुभयो ।

उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको जनाउँदै  महिला र पुरुष समानताका लागि हरेक क्षेत्रमा ५०/५० प्रतिशत सहभागिता आवश्यक रहेकाे जनाउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here