इथियोपियामा डाक्टरहरूले एक व्यक्तिको पेटबाट १ सय भन्दा धेरै फलामका किला तथा अन्य तिखा वस्तुहरू निकालेका छन् । मानसिक रूपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै चिज शल्यक्रिया गरी डाक्टरहरूले बाहिर निकाल्न सफल भएका हुन् । सेन्ट पिटर्स स्पेशलाइज्ड अस्पतालका एक सर्जनका अनुसार ३३ वर्षका ती व्यक्तिको पेटबाट ४ इन्च लामा फलामका १ सय २२ वटा किला, ४ वटा पिन, टुथपिक तथा काँचका टुक्राहरू समेत निकालियो । ती व्यक्ति १० वर्षदेखि मानसिक रोगबाट पीडित थिए ।
पछिल्लो दुई वर्षदेखि उनले औषधि खान छाडेका कारण अवस्था बिग्रिएको थियो । डाक्टरहरूका अनुसार ती व्यक्तिले त्यतिधेरै संख्याका किलाहरू पानीसँग निलेको हुनसक्छ । त्यतिधेरै वस्तुहरू पेटमा हुँदा पनि पेट नकाटिएका कारण उनको ज्यान जोगिएकोमा डाक्टरहरू उनलाई भाग्यमानी ठान्छन् । यदि किलाले पेट काटेको भए उनको मृत्यु हुनसक्थ्यो ।

















