ललितपुर / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाली कांग्रेस कम्युनिष्टजस्तो नेतामुखी नभएर नीतिमुखी बन्नुपर्ने जनाएका छन् ।
जनताको बीचमा पुँजीवादीहरूले जस्तो नेताहरूको ब्रान्ड बोकेर होइन, समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर कांग्रेस अघि बढ्नुपर्ने उनको धारणा थियो ।
प्रदेश. ३ को संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले समाजवादी पार्टीमा पुराना पार्टीहरूको मात्र होइन, छिमेकी देशको नेतामुखी कार्यशैलीको नक्कल गर्ने प्रवृत्ति पनि यदाकदा देखापर्ने गरेको जनाए । साथै समाजवादी पार्टी नयाँ ढंगको पार्टी भएकोले समाजवादी आचरण र व्यवहारसहित फरक रूपमा जनताको बीचमा जानुपर्ने उनले जनाए ।
उनले आफ्नो पार्टीले पहिचानसहितको संघीयता, सुशासन र समतामुलक समृद्धिमा जोड दिएको बताउँदै त्यसका लागि समाजवादी पार्टी बलियो हुनुपर्ने जनाए ।
नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले पहिचान दिन्छ भनेर कतिपय व्यक्तिहरू अझै आशावादी भएकोमा कटाक्ष गर्दै भने, ‘नेकपामा बसेर पहिचानको मुुद्दा उठाउनु बयल गाडा चढेर आकाशको फल टिप्न खोजेजस्तो हो, त्यो सम्भब छैन । प्रचण्डले जनयुद्धको बेला बोकेको पहिचानको झण्डा ओलीको काँधमा विसाएको छ । अब ओली र प्रचण्ड दुबै कर्णाली, गण्डकी हुँदै वागमतीको पहिचान खोज्दै महेन्द्रपथतिर लम्केको छ ।’
गोकर्ण रिसोर्ट प्रकरण, एनसेल प्रकरण, ललिता निवास प्रकरण आदिले के.पि. ओलीको सुशासन र भ्रष्टाचार अन्त्यको राजनीतिक नारा उदांगिएको जनाउँदै श्रेष्ठले भने, ‘गोकर्ण रिसर्ट प्रकरणमा नेपाल ट्रष्टको नाममा रहेको सार्वजनिक सम्पतिलाई व्यापारिक प्रयोजनका लागि समेत प्रयोग गर्न दिएर नीतिगत भ्रष्टाचार र कमिशनतन्त्रलाई प्रोत्साहित गरे, एनसेल प्रकरणमा कमिशनखोरहरूसँग सांठगांग गरे र ललिता निवास प्रकरणमा आफ्ना नेता कार्यकर्ताहरूलाई बचाउन मालपोतबाटै कागजातहरू गायब गराए । यस्ता भ्रष्ट आचरण भएका नेताहरूबाट देशमा सुशासन र समृद्धि प्राप्त हुँदैन ।’
पार्टीका ३ नम्बर प्रदेशका अध्यक्ष सोनाम सिं स्याङ्तानले अध्यक्षता तथा मुख्य सचिव मोहन बराइलीले संचालन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि, पार्टीका उपाध्यक्ष तथा ३ नम्बर प्रदेशको अनुगमनकर्ता हिसिला यमीले आफ्नो पार्टीले पहिचानको लागि दश प्लस एकको राज्य पुनर्संरचना आयोगको प्रस्तावलाई समर्थन गरेको मात्र नभई पार्टीभित्र त्यसको संरचनाहरू समेत निर्माण गरेको जनाए ।






















