काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो ।
चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र पर्याप्त वर्षा हुँदा उत्पादन बढेको जनाइएको छ । यस्तै, किसानले समयमा रासायनिक मल र उन्नत जातको बीउ पाएका कारण पनि उत्पादन बढेको मन्त्रालयको दाबी छ ।
यस्तै, नवलपरासी (पूर्व) को केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखिदा उत्पादनमा कमी आएको र लमजुङ जिल्लामा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन पुगेको जनाइएको छ।


















