काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।
चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ ।
सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।
विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो । एएफपी

















