काठमाडौं । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी अध्यक्ष प्रचण्डलाई अन्याय गरेको जनाएका छन् । बिहीबार संसदीय दलको बैठकपछि कुरा गर्दै उनले भर्खर सम्पन्न विद्यार्थी संगठन अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम दुरुपयोग गरी अन्याय गरेको जनाएका हुन् ।
‘अध्यक्ष प्रचण्डलाई हामीले अन्याय गर्यौँ । इतिहासमै विद्यार्थीको निर्वाचनलाई सौहार्दपूर्वक सम्पन्न गर्न सफल भयौँ । ३२ वर्ष उमेर हद आफैँमा कोशेढुंगा थियो नै’, उनले भने, ‘लोकतान्त्रिक प्रतिस्पर्धामा योग्य उम्मेदवार मैदानमा उत्रिएका बेला । हेडक्वार्टर(प्रचण्ड) को नाम दिएर धमिलो पानीमा माछा मारी खाने प्रवृत्तिले अध्यक्ष प्रचण्डको नाम हदैसम्म दुरुपयोग गरियो । व्यक्ति व्यक्तिसम्म फोन गयो । त्यो सर्वाधिक दुरुपयोग भयो । यसले माओवादी आन्दोलनको राजनीतिक नर्सरीमा प्वाइजन हाल्ने काम गर्यो । यो राम्रो कुरा भएन । यसको भण्डाफोर गर्नैपर्छ।’

















