काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् ।
भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।
संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।
कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रकै आधारमा लामिछानेको सांसद पद निलम्बनमा नपर्नुपर्ने जिकिर रास्वपाका नेताहरूले गर्दै आएका छन् ।
रास्वपाका सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
पुस ८ गते नै रास्वपा सांसद्हरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर लामिछानेको निलम्बनबारे ध्यानाकर्षण गराएका हुन् । यसबीचमा रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै बोलाएर कानुन विज्ञहरूसँग परामर्श लिएका थिए ।

















