काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग नेपाल र मानवअधिकार आयोग मलेसिया (सुहाकाम) बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकहरुको मानवअधिकार संरक्षण सम्बन्धमा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणका लागि उजुरीमा सम्बोधन, उजुरी प्रेषण, सूचना आदान–प्रदान, रोजगारदाताहरुलाई प्रशिक्षण, प्राविधिक सहयोग, आप्रवासी श्रमिकहरुलाई कानुनी सहयोग, अध्यागमन, कारागार र हिरासतकक्षहरुको संयुक्त अनुगमन गरी अधिकार संरक्षण र पर्वर्द्धनको वातावारण सिर्जना गर्ने लगायतका विषयहरु रहेका छन्।
समझदारीपत्र हस्ताक्षर सम्पन्न गर्नुअघि दुवै पक्षबीच भएको छलफलमा एजेन्टहरुका कारण आप्रवासी श्रमिकहरुले भोग्नु परेका समस्या, मलेसियामा रहेका नेपाली श्रमिकहरुको विभिन्न कारणबाट हुने मृत्यु, आत्महत्या, नेपाली श्रमिक तथा परिवारहरुको न्यायमा पहुँच र अध्यागमन कानुनको प्रक्रियागत सरलीकरणका लागि कानुन पुनरावलोकन जस्ता विषयहरुमा छलफल भएको आयोगले जनाएको छ।


















