ट्रेड टावर लिमिटेडकाे आम्दानी ११ करोड १० लाख रुपैयाँ

46

काठमाडाैं । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारीमा रहेको ट्रेड टावर लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यो अघिल्लो बर्ष (सन् २०२३ ) को भन्दा २३.३३ प्रतिशत बढी हो । सन् २०२३ मा यस कम्पनीले ९ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

यो अवधिमा  कम्पनीको वित्तीय दायित्व व्यवस्थापन पनि सन्तुलित देखिएको छ ।  कम्पनीको कुल ऋण र स्थिर सम्पत्तिको अनुपात  २०२४ मा ०.८ पुगेको छ । २०२३ मा ३०.८ गुणा रहेको ब्याज कभरेज अनुपात पनि २०२४ मा ७.२ गुणा कायम रहेको छ ।

कम्पनीको कुल बाह्य दायित्व र स्थिर सम्पत्तिको अनुपात २०२० मा १.५ थियो, जुन २०२४ मा १.८ पुगेको छ ।  ट्रेड टावर लिमिटेडको स्थापना सन् २००७ मा भएको हो र यसले व्यापारिक लिजिङ र रेन्टल आधारित परियोजनाहरु सञ्चालन गरेको छ ।

कम्पनीको पहिलो परियोजना ‘ट्रेड टावर थापाथली’ सन् २०११ मा सञ्चालनमा आएको थियो र अहिले ९५ प्रतिशत ओक्युपेन्सी दरमा सञ्चालन भइरहेको छ ।

हालै कम्पनीले गौशालामा रहेको होटल क्रिस्टल पशुपति (पहिलेको ट्रेड टावर गौशाला) निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यो तीन–तारे होटलले २०२४ को मध्य अप्रिलबाट आंशिक रूपमा सञ्चालन सुरु गरेको छ ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ११ लाख ५८ हजार ९८० कित्ता बराबरको ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि  अनुमति पर्खिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here