नारायणगढ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने जनाएका छन्।
कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उनले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको जनाए।
‘अहिले आममानिसमा निराशा छाएको छ। यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ। जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ। कांग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो,’ महामन्त्री शर्माले भने।
उनले मेचीदेखि महाकालीसम्मको विकास, समृद्धि र समुन्नतिका लागि काम गर्नसके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे।


















