एजेन्सी । अमेरिकी सैन्य विमान सी१७ ग्लोबमास्टर बुधबार दिउँसो १ बजे १०४ अवैध आप्रवासी बोकेर भारतको अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यो।
११ जना चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू पनि सँगै आएको उक्त विमानमा भारतको पञ्जाब राज्यका ३०, हरियाणा र गुजरातका ३३-३३ जना सवार थिए।
ती सबैको बायोमेट्रिक स्क्यान लिइएको छ। भविष्यमा उनीहरूले वैध कागजातहरू लिएर अमेरिका जाने प्रयास गरे पनि भिसा पाउने छैनन्। अमेरिका मात्र नभएर क्यानडा, न्यूजिल्याण्ड, अष्ट्रेलिया र बेलायत लगायत अन्य २० देशहरूमा जान सक्नेछैनन्। यी २० देशले अमेरिकाको भिसा नीति पालना गरेका छन्।
यो अमेरिकी सैन्य विमान भारतीय समय अनुसार फेब्रुअरी ४ मा बिहान ३ बजे अमेरिकाको सान एन्टोनियोको लागि प्रस्थान गरेको थियो। अमेरिकाले आप्रवासीहरूलाई पठाउन सैन्य विमान प्रयोग गरेको यो पहिलो पटक हो।
यसअघि, विभिन्न रिपोर्टहरूले अमेरिकाले देश निकालाको लागि कुल २०५ अवैध भारतीयहरूलाई पहिचान गरेको दाबी गरेको थियो। देश निकाला गरिने १८६ भारतीयहरूको सूची पनि सार्वजनिक गरिएको थियो। बाँकी मानिसहरू कहाँ छन् र कहिले देश निकाला गरिनेछ भन्ने कुरा अझै स्पष्ट छैन।
अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले अवैध रूपमा बसोबास गरिरहेका बाहिरी मानिसहरूलाई देश निकाला गर्ने आदेश दिएका थिए। ग्लोबमास्टरलाई भारत पठाउन लगभग ६ करोड रुपैयाँ खर्च भयो। यो चार्टर्ड उडानभन्दा लगभग छ गुणा बढी हो।


















