असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

61

चितवन, असार १६ । चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।

बाजागाजासहित उनीहरू रोपाइँमा व्यस्त रहे। हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि उनीहरूसँगै रोपाइँ गरिरहेका अन्य किसान भने चिन्तित देखिन्थे। सिँचाइ नहुँदा रोपाइँ नहुने हो कि भन्ने भएपछि उनीहरूमा चिन्ता छाएको हो।

भरतपुर महानगरपालिका–२५ स्थित अमृत नगरका होमनाथ बास्तोलाले पानी नभएर खेत रोप्न पाएका छैनन्। ‘बिउ हुर्किसकेको छ। घोलमा पानी छैन,’ उनले विगत सम्झँदै भने, ‘यतिखेर घोल बढेर खेतसम्मै आउँथ्यो। अहिले कमिला हिँडेका छन् ।’ खडेरीका कारण सधैं पानी बग्ने घोलमा पानी सुकेको उनले बताए।

‘भीमनगरमा असार १५ मनाउन एक बिघा जमिनमा भूमिगत बोरिङ प्रयोग गरेर रोपाइँ गरिएको थियो। अघिल्ला वर्ष घोलहरू बढेर पानी हवात्तै बढ्थ्यो,’ बाबुराम भट्टराईसँगै धान रोपाइँमा व्यस्त रहेका बास्तोलाले भने, ‘यो खेत पनि भूमिगत सिँचाइमार्फत मुस्किलले हिलो बनाइएको हो।’

पश्चिम चितवनका अधिकांश स्थानमा सिँचाइको समस्या छ। घोल क्षेत्रमा पनि अहिलेको खडेरीका कारण पानी सुक्दै गएको छ। वर्षात् नहुँदा धान रोप्न नपाएको भीमनगरका किसान गंगाबहादुर थापा बताउँछन्। ‘यसअघि यो क्षेत्रमा असारभित्र रोपाइँ सकिन्थ्यो। अहिले सुरु नै भएको छैन,’ खेत देखाउँदै उनले भने, ‘यतिखेर ६० प्रतिशत रोपाइँ भइसक्थ्यो। यसपालि असार आधा हुँदा १ प्रतिशत पनि हुन सकेको छैन।’ नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here