दुवै देशका सीमा सुरक्षाबल सीमा तैनाथ गरिएको अवस्थामा पनि खुला सीमाका कारण दक्षिणी भूभाग भारतको बिहार राज्यसँग जोडिएको क्षेत्रबाट नेपाल आउने गरेको हो । सीमा क्षेत्रका भारतीय राति–राति नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको कडा सुरक्षाबीच पनि मकैघारी हुँदै नेपाल प्रवेश गरिएको पाइएको छ ।
सीमाक्षेत्र गाँसिएको स्थानीय तहका प्रमुखहरूले समेत भारतीयको प्रवेश नरोकिएकाले कोरोनाले महामारी अझै बढ्न सक्ने बताए । ग्रामथान गाउँपालिका प्रमुख हरिलाल सिङले दैनिक भारतीय नेपाल प्रवेश गर्ने गरेको बताए । दुवै क्षेत्रमा मकैखेती रहेकाले मकैबारीबाट भारतीय प्रवेश गर्ने गरेको उनले जनाए ।
स्थानीय तहले रोक्न नसक्ने भएकाले सीमासुरक्षा बल भारतीयलाई प्रवेश गर्नबाट रोक्न नसकेको बताए । ४ दिनअघि मात्रै आधा दर्जनभन्दा भारतबाट नेपाल आएकाको बताए । भारतबाट नेपाल आउनेको थाह पाएपछि होम क्वारेन्टाइनमा राखेको उनले बताए । धनपालथानमा मयागंज छोटी भन्सारको आसपाससहित खैरवाना, नोचा गररिया भारतीय नाकाबाट नेपाल भित्रिने गरेको उनले जनाए।
सुनवर्षी नगरपालिका प्रमुख कालीप्रसाद दासले भारतीयको आवतजावत नरोकिएकाले अझै नियन्त्रण गर्न चुनौती थपिएको जनाए । पटक–पटक सबै सुरक्षा निकायलाई आग्रह गर्दे आए पनि बन्द हुन नसकेको उनले भने ।
उनले नेपालबाट नेपाल ल्याउन खोज्दा प्रशासनले रोक्ने तर भारतीय सहजै नेपाल प्रवेश गर्ने रबैयाले असुरक्षित बनेको उनले जनाए । सुनवर्षी नगरपालिका–७ स्थित वरडंगाको १ सय ५९ नम्बर पिलर आसपास भारतीय मकैखेतीबाट आउने गरेको बताइएको छ । वरडंडाका रमेश साहले भारतीय मजदुर नै कामका लागि ल्याउने गरेको जनाए ।
उनीहरू समेत लिजमा .( बटिया) खेती लिएर गर्ने गरेको जानकारी दिए । सशस्त्र प्रहरीका हवल्दार शम्भु महतोले अहिले कुनै भारतीय नेपाल प्रवेश नगर्ने गरेको बताए। उनले भने, ‘ सीमा हामी आएपछि रोकेका छौं । आउन खोज्छ तर आउन दिँदैनौँ ।’
भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर सीमा प्रवेश रोक्न सफल भएको बताए । सीमा क्षेत्रमा बसोबास गर्ने धेरैजसो भारतीय नेपालमा खेतीपाती गरेका छन् । नेपाल भारतको खुला सीमा भएका कारण भारतीय गाईवस्तु समेत चराउन नेपाल आउने गरेको छ । यसरी नेपाल प्रवेश गर्दा नेपालीमा खतरा बढ्दै गएको स्थानीय तहका प्रतिनिधिले जनाएका छन् ।
नेपालको बरडंडासँग जोडिएको भारतीय क्षेत्र साइदा वाद कलौनी छ । त्यहाँका भारतीय हुल बनाएरै नेपालतर्फ गाई चराउन आउने गर्छन् । भारतीय सुरक्षा बलका जवानका अनुसार साँझमा समस्या आउने गरेको जनाए ।
नेपालमा जग्गा भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकका कारण लकडाउनका बेला सीमा सुरक्षामा चुनौती थपिएको सुरक्षा अधिकारीले बताएका छन् । पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जग्गामा कैयौँ भारतीय नागरिकले खेती गर्दै आएका छन् । अन्नपूर्ण पोष्टबाट
















